उमेर : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ १२।
हार्दा हार्दै छन् जितेका कसैले ?
बढ्दा बढ्दै झन् घटेकै छ जैले
यस्तोमा खै ! हुन्न केही निसाफ ?
ढल्की जाने जिन्दगीको हिसाब ।
बाँच्दा बाँच्दै हारले घट्छ आयु
हाँस्दा हाँस्दै जीतले बढ्छ आयु
हिँड्दा डुल्दा याम जाँदा घुमेर
मेलो मेरो बढ्छ भन्ने उमेर ।
बाटोमा वा खेतमा वा घरैमा
निद्रामा वा होसमा वा डरैमा
जाऊँ आऊँ वा बसौँ वा कुदौँला
पर्खी हेर्ने हैन त्यस्ले बुझौँला ।
खाँदा खेल्दा गफ्फिँदा भाइ साथी
माया गर्दा चैत्र वैशाखमाथि
छन् आनन्दी फाँट कुर्दै भनेर
हेरे हुन्थ्यो, बस्छ कैले भुलेर ?
चम्की चम्की बस्छ यो धाम जस्तै
लम्की लम्की हिँड्छ यो घाम जस्तै
प्यारो प्यारो लाग्छ यो प्रीत जस्तै
भन्छन् मान्छे जिन्दगी गीत जस्तै ।
नानी भन्लान् हुन्न कैल्यै अबेर
बाबा भन्लान् यो गैसक्यो उडेर
जाने नै हो जान्छ भन्ने बुझेर
गर्दै जाऊँ काम राम्रा घुमेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक