बधाई तथा शुभकामना : त्रिलोचन आचार्य (कविता )

बधाई तथा शुभकामना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

माया साहित्यको गर्दै उठ्नेलाई नमोनमः
त्यागी स्मृति सभा भन्दै जुट्नेलाई नमोनमः
उम्दा व्यक्तित्व छानेर पुज्नेलाई नमोनमः
मूल्य सम्मानको के हो ? बुझ्नेलाई नमोनमः
स्वार्थीका भेलमा त्यागी भेट्नै गाह्रो छ हैन र ?
बित्ते कलमले व्यङ्ग कस्नै गाह्रो छ हैन र ?
उपन्यास कथा रच्दै बाँच्नै गाह्रो छ हैन र ?
“बन्द झ्यालहरू“ भित्र हाँस्नै गाह्रो छ हैन र ?
“धोती न टोपिका“ द्रस्टा, गीता महात्म्य पूजक
“बैराग्य“ अनि “उत्पात“, “चार थुम्का“ उचा अझ
त्यागीका लेख्य सन्तान झन् त्यागी परिवार छ
खुला “निबन्ध“ को छन्द हेर्नोस् यैँ मन्द मन्द छ ।
बीडीको स्मृति सम्मान प्रा. डा. व्यक्तित्व शालिन
श्री हेमनाथ पौडेल प्राज्ञमा गरी अर्पण –
यो बिसौँ वर्षको सास सम्मानित स्वयं भयो
म शुभकामना दिन्छु थुङ्गा दिँदै बधाइको ।
बीडी विशिष्ट सम्मान डा.चालिसे विदूरमा
विद्वान् कलमजीवीमा गरिँदैछ समर्पण
भाषा तत्त्व सुधार्नेमा सत्प्रेरणा बनोस् घना
यो बधाई दिँदै मेरो अनेकौँ शुभकामना ।
त्यागी स्मृति पुरस्कार बुढाथोकी वियोगिमा
समर्पण गरी संथा धन्य धन्य भयो यहाँ ।
अर्को छुकछुके रेल कताको आउला भन ?
हे शिवपुरीका स्रष्टा बधाई÷शुभकामना ।
प्यारा कपनका खम्बा विसु कुमार केसीमा
साहित्य प्रतिभातर्फ सम्मान अर्पँदा यहाँ
कविता काव्य वा गीत संगीतको सरोवर
भरिएको छ आस्थाले लेख्दै जाऊन् बरोबर ।
साहित्य क्षेत्रमा आफ्नो योगदान सधैँ दिने
यी थापा कमलाश्री हुन् गीतकार र उद्यमी
सम्मानित हुँदै गर्दा संस्थाको यश भो घना
सुनौँला गीतका भाका बधाई शुभकामना ।
बीस बर्ष कुद्यो संस्था सयौँ वर्ष कुदी रहोस्
गाली छैन सधैँ ताली पाएको छ बुझी रहोस्
सुख शान्ति र संमृध्दि एकासीले दियोस् झन
छ शुभ कामना भन्दै विदा लिन्छ त्रिलोचन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।