प्रचण्ड भन्छन् : पार्टी एकताको लागि जस्तोसुकै त्याग गर्न तयार छु

काठमाडौ, २१ जेठ । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीलाई एक ढिक्का बनाउन जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताउनु भएको छ । दुबै मृगौलामा गम्भीर समस्या भएपछि नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार गराइरहनु भएका पूर्व जनमुक्ति सेनाका संयोजक समेत रहनु भएका पोलिटव्यूरो सदस्य नन्दकिशोर पुन,पासाङसँगको भेटमा प्रचण्डले यस्तो बताउनु भएको हो । बिहान जोरपाटीस्थित मेडिकल कलेज शिक्षण अस्पताल पुग्नु भएका प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको स्वीकारगर्दै फुट्नबाट बचाउनको लागि सक्दो प्रयास आफूले गर्ने बताउनु भएको थियो । अस्पतालमा उपचार गराइरहनु भउका पुनले पार्टी एकता कायम राख्नको लागि अध्यक्ष प्रचण्डसँग आग्रह गर्नु भएको बुझिएको छ । देशभित्र उत्पन्न राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएकोभन्दै यथास्थितिवादी तथा प्रतिगामी शक्तिहरुका कारण जनताले चाहेको संविधान लेख्नमा सहमति नभएको र जनताले ठूलो धोकाको महसुस गरेको पुनले बताउनु भएको थियो । दुवै मृगौलामा समस्या देखिएपछि थप उपचारको लागि भारतको नयाँ दिल्ली लग्ने तयारी गरिएको भए पनि पुनले भने आप्नो उपचार देशमै हुनुपर्नेभन्दै दिल्ली जान अस्वीकार गर्नु भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।