एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई स्वर्ण

एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ,बैशाख ६।

गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी तय गर्न २ मिनेट ०५.५५ सेकेन्ड समय खर्चे । सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट दोश्रो तथा कर्णाली प्रदेशका प्रकाश बुढा तेश्रो भए । सरिताले २ मिनेट २८.५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । कर्णालीकै भावना कर्साल दोश्रो तथा लुम्बिनी प्रदेशकी अनिशा थारु तेस्रो भए ।
ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारु दोश्रो तथा रवि चौधरी तेश्रो बने । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन् । सरिताले ३१.५४ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिब्याकला थारुले कांस्य हात पारे ।
छात्र लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दैै पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोश्रो तथा आशिष महर तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोश्रो तथा सुदूरपश्चिमकी रेनुका ऐर तेश्रो बने ।
छात्र÷छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोश्रो तथा सुदूरपश्चिम तेश्रो भए । छात्रामा गण्डकी दोश्रो तथा सुदूरपश्चिम तेश्रो बने ।
कबड्डी ः सेमिफाइनल समीकरण पूरा
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र÷छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।
छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।
भलिबल ः छात्रामा सेमिफाइनल समिकरण तयार
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमिफाइनल समीकरण तयार भएको छ ।
समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे । अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो ।
गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो ।
पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो । लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

तपाइँको प्रतिक्रिया ।