रेडियो श्वेत शार्दूलमा ३ महिने इन्टर्नसिप सुरु

रेडियो श्वेत शार्दूलमा ३ महिने इन्टर्नसिप सुरु

कपन अनलाइन

काठमाण्डौ,बैशाख ४।

रेडियो श्वेत शार्दूलमा पत्रकारिताका विद्यार्थीहरूका लागि तीन महिने इन्टर्नसिप कार्यक्रम सोमबारदेखि सुरु भएको छ । सहभागीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै रेडियोले ‘इन्टर्नसिप कार्यक्रम–२०२४’ औपचारिक रूपमा सुरु गरेको हो ।

मदन भण्डारी फाउण्डेसनको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् फाउण्डेशनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पत्रकारिताका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र अभ्यासको कमी हुन नदिन रेडियो श्वेत शार्दूलले काम गरिरहेको बताउदै श्वेत शार्दूलसँग प्राविधिक रूपमा  आधुनिक उपकरण र आवश्यक पूर्वाधारयुक्त स्टुडियो भएकोले तीन महिनाको अभ्यास पछि सहभागीहरूले व्यावसायिक फड्को मार्ने विश्वास व्यक्त गरेकी थिइन्।

वैशाख तीन गतेदेखि सुरु भएको इन्टर्नसिपमा मदन भण्डारी मेमोरियल, बज्र इन्टरन्याशनल, रत्नराज्य लगायतका क्याम्पसहरूबाट १२ जना पत्रकारिताका विद्यार्थीहरू सहभागी रहेका  छन् । दुई दर्जन भन्दा बढी आवेदकहरूबाट आवश्यक योग्यता पुगेका १२ जनालाई छनौट गरिएको इन्टर्नसिप कार्यक्रमका संयोजक सुप्रिया राईले जानकारी दिएकी छन ।

रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले सहभागीहरूलाई स्थापित रेडियो तथा टेलिभिजन स्टेसन र अनलाइन मिडियाको अवलोकन भ्रमण गराउनुका साथै व्यावसायिक रूपमा सफल पत्रकारहरूसँग  निरन्तर भेटघाट र अन्तरक्रिया गराइने जानकारी दिएका छन ।

सो अवसरमा मदन भण्डारी मेमोरियल कलेजका सहायक क्याम्पस प्रमुखहरू कमल न्यौपाने, प्रज्वलमान श्रेष्ठ र चक्रपथ डट कमका सम्पादक दिनेश घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै सफलताको कामना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।