राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने

राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने

कपन अनलाइन

काठमाण्डौ,चैत २३० ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् ।
प्रतियोगिता बारे जानकारी गराउन त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि ६ गतेसम्म हुने प्रतियोगितामा ६ सय ८६ खेलाडी सहभागी हुने जानकारी गराइयो । विभिन्न ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा   हुनेछ ।
एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित नयाँ रनिङ सिल्ड प्रदान गरिने छ । लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।
समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपाल सरकारबाट प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रुपैयाँ बढी हो ।
सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।