एउटा टेलिफोन संवाद जसका कारण फेरियो नेकपा एमाले बुढानिलकण्ठको दृश्य ………

एउटा टेलिफोन संवाद जसका कारण फेरियो नेकपा एमाले बुढानिलकण्ठको दृश्य ………

कपन अनलाइन

काठमाण्डौ,चैत २२।

नेकपा एमाले बुढानिलकण्ठ बागमती प्रदेश र काठमाण्डौ जिल्लामा पहिलो पालिका अधिवेसन सम्पन्न गर्ने कमिटी बनेको छ। चैत १६ गते सुरु भएर २० गते सम्पन्न भएको अधिवेसनले पुरानै पदाधिकारीहरुलाई निरन्तरता दिदै नयाँ कमिटी निर्माण गरेको छ।

नेतृत्व निरन्तरता कि परिवर्तन भन्ने विषयले दरिलो संग प्रवेश पाए संगै लम्बिएको सो अधिवेसनमा प्रत्यक्ष उम्मेद्वारी दर्ता गरेका नेताहरु दृश्यमा देखिए भने नगर संग जोडिएका शिर्ष नेताहरु पनि अदृश्य रुपमा जोडिएका थिए।

पार्टीलाई दीर्घकालीन रुपमा असर पार्नेगरी निर्वाचन क्षेत्रीय मुद्दा अधिवेसनमा भुसको आगो जस्तै फैलिए पछि केन्द्रिय नेताहरुले प्रत्यक्ष चासो व्यक्त गर्ने र भूमिका निर्वाह गर्ने परिस्थिति बनेको थियो।

चैत १७ गते सदस्यहरुमा सर्वसम्मति गर्दै पदाधिकारीहरुका वारेमा छलफल र सहमति गर्ने भन्दै अधिवेसन २० गते सम्म स्थगित भएपछि आन्तरिक दौडधुप र चलखेल तीव्र बनेको थियो।

पदाधिकारीमा दावी गरेका १७ जनाले नेतृत्वको निर्णय मान्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेर जिल्ला कमिटी अध्यक्ष दिपक निरौलालाई बुझाए संगै स्थगित भएको अधिवेसनमा नेतृत्व दावी गरेका नेताहरुले माथिल्लो कमिटीमा रहेका प्रभाव पार्न सक्ने नेताहरुकोमा गरेको घरदैलो निकै रोचक बनेको थियो।

पहिलो अधिवेसन गरेको बुढानिलकण्ठको अधिवेसनले अन्य नगर अधिवेसनमा पनि प्रभाव पार्न सक्ने अनुमान गरेका नेताहरुले यस विषयलाई निकै गम्भीर रुपमा लिएर छलफल र परामर्श गरेका थिए।

यसक्रममा बुढानिलकण्ठ नगरपालिका भूगोल रहेका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य डा.राजन भट्टराई सम्म आकांक्षी र दावेदारहरुको दौडधुप हुनु स्वाभाविक रहेको थियो।

काठमाण्डौ क्षेत्र नं ५ का पाँच वडा र काठमाण्डौ क्षेत्र नं ४ का आठ वटा वडा रहेको बुढानिलकण्ठ नगरपालिकाको अधिवेसनमा प्रत्यक्ष जोडिएका पोखरेल र भट्टराईविच चैत १९ गते बिहान भएको टेलिफोन संवादनै सहमतिको निर्णायक विन्दु बनेको चर्चा अहिले एमाले वृतमा व्यापक बनेको छ।

अपरिपक्व र हल्का रुपमा उठाईएको क्षेत्र नं ४ कि ५ भन्ने मुद्दामा निर्वाचन भएको खण्डमा  नगरको राजनीतिमा दिर्घकालिन असर पार्ने आँकलन गरेका दुई नेताले सहमतिका विभिन्न विकल्पहरु मध्ये प्रभावकारी विकल्प पुरानै पदाधिकारी हुनसक्ने विश्लेषण गरेको श्रोतले जानकारी दिएको छ।

दुई प्रभावशाली नेताहरु विचको टेलिफोन संवाद पश्चात सक्रियता बढाएको जिल्ला कमिटीले सहजीकरण समिति निर्माण गरेर १९ गते मध्यरात करिव १ बजे सहमति गरिएको थियो।

पहिलो पटक शिर्ष नेताहरु नै मैदानमा आएर भूमिका खेल्नुपर्ने र स्थानीय नेताहरु व्यवस्थापन गर्नुपर्ने अवस्था सृजना भएसंगै बुढानिलकण्ठको भूगोलमा हस्तक्षेपकारी भूमिका खेल्ने गरेका स्थानीय नेताहरुको प्रभाव खस्किएको चर्चा पनि अहिले चलिरहेको छ।

आगामी दिनमा भोग्नुपर्ने चुनौती र सामना गर्नुपर्ने समस्याहरु नजिकबाट देखेको नेकपा एमाले बुढानिलकण्ठको निर्वाचित नेतृत्वले अधिवेसन सुरु भएर सकिन लागेको ५ दिनको अवधिमा भएका घटनाक्रम र चलखेललाई  स्वाभाविक राजनीतिक प्रक्रियाका रुपमा लिन्छ वा गम्भीर असन्तुस्टी ? त्यो भने आउने दिनमा देखिने नै छ।

 

तपाइँको प्रतिक्रिया ।