कविता नानी : त्रिलोचन आचार्य (कविता )

कविता नानी : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, फागुन २६।

नानी तिमी सुरसिली फरासिली
ज्ञानी असाध्य हँसिली र चम्किली
भै रागिनी सु–रमणी सु–संहिता
आऊ खुलेर कविता तिमी यता ।

छोरी तिमी सहृदयी सुवासिनी
डोरी तिमी प्रकृतिकी सुलच्छिनी
निर्धक्क हेर नपुगी कता–कता
आऊ खुलेर कविता तिमी यता ।

पाखा बनून् कुसुमका भनेसरि
आँखा खुलून् गगन यो खुलेसरि
हुन् तप्प तप्प रसिला सफा लता
आऊ खुलेर कविता तिमी यता ।

संसार प्रेम रसले भिजाउनू
सद्भावले जग सबै रिजाउनू
देऊ न यो जग भरी सुसभ्यता
आऊ खुलेर कविता तिमी यता ।

खोज्दैछु भाव गरिमा बढाउने
उड्दै स्वयं गगनमा उडाउने ?
ल्याई समस्त जगमा सुरम्यता
आऊ खुलेर कविता तिमी यता ।

गर्ने भएँ म ललितासँगै गफ
शार्दूल तोटकहरू सबै पख
भन्दै थिएँ– तर तिमी गयौ कता ?
आऊ खुलेर कविता तिमी यता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।