काठमाडौ महानगरले फोहोर संकलनमा रोक लगाएको अस्पतालहरुको संख्या १० पुग्यो

काठमाडौ महानगरले फोहोर संकलनमा रोक लगाएको अस्पतालहरुको संख्या १० पुग्यो

कपन अनलाइन

काठमाडौं, फागुन २३ ।

संक्रमित फोहोर निसंक्रमण नगरिएकाकारण काठमाडौँ महानगरपालिकाले  फोहोर संकलनमा रोक लगाएको अस्पतालहरुको संख्या १० पुगेको छ ।

वडा नं. १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नं. १२ को बुद्धमाई अस्पतालको फोहोर संकलनमा रोक लगाएसँगै यस्ता अस्पतालको संख्या १० पुगेको हो । यस अघि महाराजगञ्ज – बसुन्धरा – सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल,  कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलंकीको सहिद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर संकलन रोकिएको छ ।

सोल्टी मोडको स्पार्क हेल्थ होम अस्पताल, कालीमाटीको कालीमाटी चेस्ट अस्पताल र टेकुको वुद्धबारी अस्पतालको अनुगमन गरिएको थियो । यी अस्पतालहरु क्रमशः २४, २५ र १५ वेडका अस्पताल हुन् । हेल्थ होम फिजियोथेरापी सेवामा केन्द्रीत भएकोले कम हानीकारक फोहोर उत्पादन हुने देखियो । यस अस्पतालबाट उत्पादन हुने डाइपर व्यवस्थापन गर्न, फोहोरको मात्रा अभिलेखन गर्न, अक्युप्रेसरका लागि प्रयोग भएका सुइहरुको निर्मलीकरण गर्न निर्देशन दिइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिएकि छन  ।

कालीमाटी चेस्ट अस्पतालमा क्षयरोगका विरामीहरु उपचारका लागि आउने गरेका छन् । यहाँको प्रयोगशालामा पुग्ने नमूना र त्यहाँबाट उत्सर्जन हुने फोहोर निर्मलीकरणको पद्धति राम्रो देखियो । प्रयोगशाला जति राम्रो छ, अन्य स्थानबाट उत्पादन हुने फोहोरको वर्गीकरण, भण्डारण र निर्मलीकरण त्यत्तिकै अव्यवस्थित छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैया महर्जनले कन्टेनरमा मिश्रित फोहोर देखिएकोले संकलनमा रोक लगाइएको बताइन  ।

टेकुमा रहेको वुद्धबारी अस्पतालको नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली छैन । भित्री कक्षहरुमा फोहोर हाल्ने बाल्टिन छैनन । सबै फोहोर फाल्न बाहिर राखिएका बाल्टिनसम्म आइपुग्नु पर्ने अवस्था छ । वाहिर रंग संकेत अनुसारका बाल्टिन राखिएको छैन ।

अस्पतालका प्रमुख प्रशासकीय राजेश तण्डुकारले हानीकारक फोहोर प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए  । उहाँबाट सूचना पाएलगत्तै वातावरण निरीक्षक श्रेष्ठले मोडेल अस्पतालकी नर्सिङ् प्रमुख राधिका घिमिरेलाई फोन सम्पर्क गर्दा घिमिरेले, फोहोर व्यवस्थापनका लागि आफूले कसैसँग सम्झौता नगरिएको बताएका थिए  ।

कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीमा हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताए  ।हालसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ ।

 

तपाइँको प्रतिक्रिया ।