जय नेपाल फाउनडेशनद्वारा ‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनार आयोजना

जय नेपाल फाउनडेशनद्वारा ‘स्मार्ट सिटी’ सम्बन्धी वेबिनार आयोजना

कपन अनलाइन

काठमाडौं, फागुन २२ ।

जय नेपाल इन्टरनेशनल फाउनडेशनले ‘स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्षदेखि  स्थानीय अभ्याससम्म’ भन्ने विषयमा वेबिनार आयोजना गरेको छ । शनिबारको कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा इन्जिनियर दीपकबाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार र अर्थतन्त्रबाट स्मार्ट सिटी प्राप्त गर्न सकिने भएको हुँदा समष्टिगत विकासको अवधारणा लिएर जानुपर्ने बताए ।अमेरिकाको चौथो ठूलो शहर ह्युस्टन शहरको जल व्यवस्थापन विभागका व्यवस्थापकीय इन्जिनियर सतीश त्रिपाठीले एक प्रस्तुत गर्दै  स्मार्ट सिटीको लागि “लो कष्ट हाई भ्यालु प्रोजेक्ट” बाट सुरु गर्ने, स्मार्ट भौतिक पूर्वाधारमा लगानी गर्ने, डेटा कलेक्सन र स्टोरेज तथा मास्टर प्लान बनाएर अगाडी बढ्ने गरेमा  स्मार्ट सिटीको अवधारणमा पुग्न सकिने जनाए।

नेपालमा अहिले पनि सन्  १९७० भन्दा अगाडिको स्वरूपमा योजना बनाउने काम जारी रहेको भन्दै उनले ढिला नगरीकन स्मार्ट सिटीको सुरुवात गर्न आवश्यक रहेको बताए । पहिलो चरणमा ओपन सोर्समा आधारित  बिना पैसामा प्रयोग गर्न सकिने एक्सेल,पावर बिआई लगायतका टुलहरू प्रयोग गर्न उनले सुझाव दिए ।

नेपाल सरकारको वित्तीय सुशासन आयोगका सदस्य सचिव एवं सीईओ दीपेश विष्टले नेपालमा भर्टिकल समन्वय र डेटा प्रशस्त भएको तर हराइजन्टल रूपमा डेटा ट्रान्सफर र समन्वयको कमी रहेको भन्दै यस्तो खाडल पुरा नगरेसम्म स्मार्ट सिटीमा पुग्न गाह्रो हुने बताए ।

स्मार्ट सिटीमा पुग्नको लागि यसलाई प्रयोग गर्ने राजनैतिक नेतृत्व, कर्मचारी लगायत सबैलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाउनु पर्ने, नागरिक सरकारकोमा हैन सरकार नागरिककोमा पुग्नु पर्ने वातावरण बनाउनु पर्ने उनले बताए ।छलफलमा भाग लिंदै धादिंगस्थित  नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाले विश्वभरमा नै २२ वोटा एकल अधिकार स्थानीय निकायलाई दिइएको मुलुक नेपाल मात्र रहेको र  नेपालको स्थानीय निकायमा रहेका ६ हजार ७४३ वार्डहरूमा एक दलित महिला सहित  हरेक वार्डमा २ महिलाको व्यवस्था गरेर प्रतिनिधित्वलाई सुनिश्चितता  गरिएको जनाए ।

स्मार्ट सिटी बन्नको लागि नीति निर्माणमा  ढिला नगरीकन चाँडो भन्दा चाँडो बनाएर लैजानु पर्ने, विदेशमा बसेर आर्जन गरेको ज्ञान र सीपलाई मातृभूमिको विकासमा सदुपयोग गर्न तथा यसको लागि समन्वयको आवश्यकता परेमा सो को अवसर जुटाउन आफू लागि पर्ने, जनप्रतिनिधिहरूलाई निर्वाचित भएर आए पश्चात नीति नियम, र प्रक्रियाको बारेमा कमसेकम १५ दिनको  तालिम प्रदान गर्नु पर्ने सुझाव दिए ।

गोरखा नगरपालिकाकी  उपप्रमुख सपना पुनले स्मार्ट सिटी सम्बन्धी जानकारी सम्पूर्ण स्थानीय निकायहरूमा लैजानु पर्ने आवश्यकता रहेको बताइन् । अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोजकले अधिकारको हिसाबले नेपालका स्थानीय निकाय अमेरिकाका स्थानीय निकायभन्दा शक्तिशाली रहेको भन्दै आआफ्नो नगर क्षेत्रमा स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, रोजगारीको  लागि एकीकृत  रुपमा काम गर्नु पर्ने सुझाव दिए । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले स्थानीय निकायले नै स्थानीय निकायको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न पाउने वातावरण  बनाएमा काम गर्न सजिलो हुने बताए  ।

‘शिक्षासँगै रोजगारीको सुनिश्चितता गर्न नसक्दासम्म  हामीले युवा पुस्तालाई देशमा नै बस्ने वातावरण बनाउन सक्दैनौं,’ उनले भने ।  योजनाविद्  डा. केशव भट्टराईले नेपालमा शहरी र ग्रामीण क्षेत्र कति भनेर नै छुट्टाउन गाह्रो हुँदै गएको भन्दै प्रवासमा रहेका नेपाली विज्ञहरु नेपालका  स्थानीय निकायसंग मिलेर काम गर्न तयार रहेको जनाए  ।

डा. नीरज श्रेष्ठले संचालन गरेको  कार्यक्रममा जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले संस्थाको उद्देश्यको बारेमा जानकारी गराएका थिए  भने जय नेपाल  इन्टरन्याशनल फाउन्डेशनका  अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिए  ।  यसै शृंखलाको दोश्रो चरणको  कार्यक्रम आउँदो  अप्रिल ६ तारिख (शनिबार, चैत्र २४ गते)  आयोजना गरिने फाउन्डेशनले जनाएको  छ।

तपाइँको प्रतिक्रिया ।