अपमान : कविता दाहाल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ,फागुन १२।
अपमानको आगो जति बाहिर पोखियो उति नै रिदमको भित्रपनि ज्वालामूखि भएर उम्ली रहेको थियो । एकान्तमा कार रोकेर उस्ले टाउकोबाट बोतलको पेट्रोल सबै खन्यायो जसरी टाउको सितल पार्न पानी खन्याइन्छ । लाइटर बाल्नै लाग्दा उस्लाई आफ्नी प्यारी जीवन संगिनी सरिताको सालिन अनुहारको झल्को आयो । ऊ हतारमा हिन्दै गर्दा सरिताले “केही गर्नु अघि यो पढ्नु है ‘भन्दै कागज दिएकी थिइन् । उसले हतार हतार नोट निकालेर पढ्न थाल्यो । जहाँ लेखिएको थियो – ‘मेरा प्राण भन्दा प्यारा पतिदेव ! आज तपाई जे गर्न जाँदै हुनुहुन्छ मैले थाहा पाएर पनि रोकिन । आफ्नो अपमानको पीडाको अगाडि मलाई क्षमा नगर्नु होला तर अपमान कसरी सहिन्छ एउटी नारीबाट तपाईंले सिक्न जरूरी छ । भर्खरै छोरी विदा गर्नु भएको छ हैन ? एक चोटी छोरीको ठाउँमा आफूलाई राखेर हेर्नुस् । हाम्रो समाजमा विवाह भएर गएकी एउटी छोरीलाई कस्तो सम्म व्यवहार गर्न सक्छन् र उसले कस्तो कस्तो अपमान ‘उफ’ ! सम्म नगरी भोग्नुपर्छ सुन्नुहोस् । बिहे भएर आएकै दिन उस्को घरमा गिफ्ट खोल्दै नाक खुम्याउँनेछन् । माइतीले दिएको गहनालाई पाप्रा र पाप्री भन्दै झट्टारो हान्न सक्छन् । उसलाई एउटा काम विग्रेको निहुँमा बर्र्षाैसम्म ताना मारि रहन सक्छन् । तपाईंलाई थाह छ कहिले काहीं बिरामी भएर काम गर्न नसके अथवा घरको कुनै कार्यक्रम छुटेमा कामचोरको संज्ञा दिन्छन् । आफ्नैघरमा माइतीका आफन्त जाँदा अपमानित व्यवहार गर्छन् ।तपाईंलाई के भनांै म ! घर परिवार मात्र हैन कति पति भनाउँदाहरुले पनि मैले पालेको छु भन्दै पत्नीलाई तिर जस्ता शब्दले अपमान गर्छन् । कलकलाउँदो उमेरमै दाइजो थोरै भएको निहुँमा कतिलाई उस्कै परिवारले जलाएर मार्छन् । हाम्रो समाजमा एउटी नारी जहाँ आफ्नो सम्मान हुँदैन त्यहाँ पनि सबैको सम्मान गर्दै मुस्कुराउँछे । त्यहीं एउटा पुरुष फरक नै नपर्ने नातेदारको अपमान पनि सहन सक्तैन ।’ चिठी पढिसक्ता रिदमको आँखाबाट बलिन्द्र आँशुका धारा बगिरह्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।