गजल : गंगा खड्का
कपन अनलाइन
काठमाडौं,माघ २६।
तिम्रो लागि पहरामा फूल बनीफुल्न सक्छु
परि आए आँखा चिम्ली सारा संसार भुल्न सक्छु ।
जिन्दगीको दौरानमा नगरेर कुनै गुनासो
संघर्षको सिस्नो घारी फाँड्दैफाँड्दै डुल्न सक्छु ।
जतिसुकै मुस्लो उठी मडारिए नि मेघमाला
वरिपरि चम्किदिने चाँदीघेरा भई खुल्न सक्छु ।
लेखाजोखा नगरेर लेनदेनको सम्बन्धमा
अधरमा सधैँ तिम्रो गुलाफ पत्ता घुल्न सक्छु ।
अभावले क्षितिजबाट चियाएर हेरे मात्रै
कल्पतरु समान बनी तिम्रो समीप झुल्न सक्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।