ज्ञान मन्दिरलाई ओप्स फुटबल उपाधि

ज्ञान मन्दिरलाई ओप्स फुटबल उपाधि

कपन अनलाइन

काठमाण्डौ ,माघ १० ।

ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलको उपाधि मंगलबार जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा ज्ञान मन्दिरले सेबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । सुमित वज्राचार्यले १७ औं मिनेटमा गोल गर्दै सेबलाई १–० को अग्रता दिलाएका थिए । ज्ञान मन्दिरका विकास गुरुङले ३७ औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टीमा ज्ञान मन्दिरका विकास गुरुङ, सुशान्त थापा मगर, विवेक राई र यारिश मख्याम मगरले गोल गरे । सुशान्त प्याकुरेल चुके । सेबका मनीष गुरुङ, अर्जुन राना मगर र दिप्सन मल्लले गोल गरे । विप्लव गुरुङ र सुमित चौधरीले गोल गर्न सकेनन् ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा ज्ञान मन्दिरका सुशान्त थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । फर्वाडमा सेबका सुमित वज्राचार्य, मिडफिल्डमा कौशलका करणराम भुल, डिफेन्समा ज्ञान मन्दिरका विवेक राई, गोलरक्षकमा ज्ञान मन्दिरका आयुब मोक्तान र प्रशिक्षकमा ज्ञान मन्दिरका आशिष थापा उत्कृष्ट चुनिए ।
गल्र्स फुटबलमा भने हिमरश्मिले कौशललाई १–० ले हराउदै यसअघि नै उपाधि जितिसकेको छ । व्यक्तिगत विधाको पुरस्कार भने मंगलबार मात्र घोषणा गरियो । हिमरश्मिकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भइन् । गोलरक्षकमा ज्ञान मन्दिरकी अनु बराम, डिफेन्समा हिमरश्मिकी निमा तामाङ, मिडफिल्डमा कौशलकी सेमेनु तमाङ र फर्वाडमा कौशलकै आस्मा गुरुङ उत्कृष्ट चुनिए । ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले नकआउट पद्धतिमा प्रतिसपर्धा गरेका थिए ।
माघ ५ गतेदेखि सुरु भएको ओप्स खेलकुद महोत्सवमा फुटबलसहित बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस टेनिस र एथलेटिक्स गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको ब्वाइजमा सेब र गल्र्समा हिमरश्मिले उपाधि जिते । ब्याडमिन्टनमा हिमरश्मि र टेबलटेनिसमा श्रृजना ज्ञान सागरले स्वर्णमा ‘क्लिन स्विप’ गरे । दुवै खेलमा समान ३–३ स्पर्धा समावेश थिए । २२ स्वर्णका लागि प्रतिस्पर्धा भएको एथलेटिक्समा लालीगुराँले १०, हिमरश्मिले ८, श्रृजना ज्ञान सागरले २ तथा ज्ञान मन्दिर र न्युटनले समान १–१ स्वर्ण जिते । समग्रमा हिमरश्मिले सर्वाधिक १३ स्वर्ण जित्यो ।
सबै खेलका पदक विजेतालाई मंगलबार पुरस्कृत गरियो । विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, सचिव शिव अर्याल, सह–सचिव रविन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तपाइँको प्रतिक्रिया ।