सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण
कपन अनलाइन
काठमाण्डौ,पुस १५ ।
आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेका छन् ।
कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । एक टिमबाट समान २–२ पुरुष÷महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किलोटिमर तय गर्नु पर्ने थियो ।
नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोश्रो भए । ३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सन्जिव नेपाली, सिमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेश्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए ।
आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गरे । रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोश्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्ड समयमा तेश्रो बने । सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकालिन् । आर्मीकी पूर्णलक्ष्मी (१९ मिनेट १५.४८ सेकेन्ड) दोश्रो तथा आर्मीकै सिर्जना (१९ मिनेट ४०.८५ सेकेन्ड) तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे । खुलामासहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।
भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोश्रो र काठमाडौंका मनिनकुमार महर्जन तेश्रो बने । पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौंका रेवतबहादुर दाहालले कांस्य हात पारे । भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपीएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी सर्मिला बस्नेत दोश्रो र बालाजुकी विनिता महर्जन तेश्रो स्थानमा रहे ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो । त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।
प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । आयोजकका अनुसार जम्मा २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो । मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।