मोर्चाद्वारा माओवादीका तीन नेता लाई निस्कासन गरेको घोषणा

काठमाडौ, २० जेठ । मधेसी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको बृहत् मधेसी मोर्चाले एकीकृत माओवादीका नेताहरुलाई पदमुक्त गरेको जनाएको छ । एकीकृत माओवादी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव, प्रभु साह र रामकुमार शर्माले मोर्चाको आचारसहिता उल्लंघन गरेको आरोप लगाउँदै पद र जिम्मेबारीबाट मुक्त गरेको संयोजक यादवले जानकारी दिनुभयो । आज राजधानी काठमाडौंमा पत्रकार सम्मलेन गरी मोर्चाले तीन जना सदस्यलाई पदमुक्तको घोषणा गरेको हो । जेष्ठ १४ गतेको मध्यरातिमा प्रधानमन्त्री डा.बाबुराम भट्टराइको सरकारले मंसिर ७ गते संविधान सभाको निर्वाचन गर्ने निर्णय असंवैधानिक रहेको समेत मोर्चाले जनाएको छ । मोर्चाद्वारा जारी पे्रस विज्ञप्तिमा सरकारले सुनुयोजित ढङ्गबाट मुलुकको एकमात्र जनप्रतिनिधि संस्थालाई समाप्त पारी सत्तामा रही रहने सर्वसत्तावादीसोचको कारणले संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरेको उल्लेख छ । मोर्चाले सर्वपक्षीय राजनीतिक सहमतिको आधारमा चुनावी सरकार गठनको लागि प्रधानमन्त्रीले बाटो खोल्नु पर्नेमा जोड दिएको छ । मोर्चाले सर्वपक्षीय राजनीतिक सहमतिका आधारमा वर्तमान कामचलाउ सरकारलाई अन्त्य गरी मुलुुकलाई निकास दिनका लागि राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया ।