छोरा विदाई गरी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
काठमाडौं, पुस ७ ।
१. के आए दिन यी पढेर घरमा बस्दै नबस्ने कुनै
खोजी जागिरको गरी मुलुकमा पस्दै नपस्ने कुनै
सोझै सात समुन्द्र तर्नु छ तथा बाँधेर नाना थरी
छोरी मात्र कहाँ, छ एक्लिनु यहाँ छोरा विदाई गरी ।
२. गैह्री खेत रूँदैछ आज पसिना छर्दैन कोही भनी
यै झुप्रो पनि रून्छ प्रेम अहिले, गर्दैन कोही भनी
आफ्नै आँगन रुन्छ शुन्यपनले आएन कोही चरी
आशा गर्न यहाँ सबै विवश छौँ रोएर के धर्धरी ।
३. हाँस्दै तेल लगाउँथिन् अब त खै आमा रमाउँन् कहाँ ?
हुन् सम्पत्ति यिनै भनेर रहने बाबा समाऊन् कहाँ ?
खै मुस्कान गयो कता जब युवा छैनन् परे आखिरी
तन्नेरी सब सुम्पियौँ प्रगतिको ढोका नखुल्ने गरी ।
४. पढ्छन् मात्र भिषा निमित्त नफुलौँ नानी पढाएँ भनी
उड्छन् झट्ट विदेशतर्फ नभनौँ ज्ञानी बनाएँ भनी
यै सानो मसिनो तथा दुधमुखे जाँदैछ खोला तरी
चढ्दा जेट हुँदैन हेर्नु त्यसमा छन् आँशुका पोखरी ।
५. माटोमा किन फल्छ अन्न श्रमले कोर्दैन कोही पनि
आमा सन्दुक फालिद्यौ धन यता जोर्दैन कोही पनि
आफ्नै सन्तति उम्किँदा पर परै के हेर्नु आँखा छरी
हाँस्ने आश छ बेसरी तर पर्यो त्यो वाध्यताको झरी ।
६. कुर्नै पर्दछ लाशले पनि दिने पानी कहाँ छन् कहाँ ?
छन् वृध्दाश्रममा टनाटन बुढा नानी कहाँ छन् कहाँ ?
कैले आउनु ? साहु भन्छ तँ नजा, फर्कन्न टाढा परी
आफ्नाबाट विछोडिँदै कति बसौँ हामी नमर्दै मरी ।
७. जानेको कति दोष छैन नहुँदा टेक्ने अवस्था यहाँ
नानीले सपना भनौँन छ कहाँ ? देख्ने अवस्था यहाँ
यौटा दृढ अठोट गर्छ कसले बान्की उज्यालो छरी
के हेर्छस् सरकार रून्छ दुनियाँ, छोरा विदाई गरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।