शुभकामना : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
१. खेती अक्षरको गर्दा हुँदैन लाभ क्यै भनी
जग्गा दलाल बन्ने यो हावा चल्दैछ दन्दनी
यो बेला एउटा मान्छे बोकेर पत्रिकाहरू
आस्था जगाउँला भन्छ विश्वास कसरी गरूँ ।
२. कालो बादलका माझ उज्यालो ज्योति देखियो
यो निभ्ला कि अझै बल्छ यौटा प्रश्न त्यहाँ थियो
आशंका सब मेटेर त्यो अगाडि बढी रह्यो
हातपाउ दुवै टेकी त्यो चट्टान चढी रह्यो ।
३. जालबुन्नेहरू माथि पढ्नेहरू सधैँ तल
सोझाहरू शुली चढ्ने बाङ्गाको खुब हल्चल
यो बेलामा भन्यो लेखौँ रचना छापिदिन्छु म
कमाएर धनी बन्ने सपना हापिदिन्छु म ।
४. इमान बुझ्नन जान्ने भन्छन् निबन्ध छन् पछि
इज्जत धनमा देख्ने भन्छन् निबन्ध छन् पछि
आदर्श पदमा देख्ने भन्छन् निबन्ध छन् तल
सिर्जना पथमा हिँड्ने देख्छन् निबन्धमा बल ।
५. कतिले कल्पना कोरे कतिले सपना छरे
गीत गजल वा लेखक ति ले रचना गरे
फूलबारी भनी साझा छाप्छन् निबन्धले सबै
शुक्रबार नयाँ अङ्कबोक्छन् निबन्धले सधैँ ।
६. यात्रा अभावको गर्नु हैन मजाक त्यो गरे
अशक्त शिशुको हात समाई भेल जो तरे
सद्ज्ञानी जनले बुझ्छन् सृष्टि संसार बुझ्छ जो
पाँच सयपुगीअङ्क परिपक्व कबा भयो ।
७. छरेर दिव्य सन्देश उठोस् कपनको रथ
भरेर सृष्टिका भाका सभ्यताको खुलोस् पथ
फैलाई युगकाभाका समाई सपना घना
जगाओस युगका भाका कबामा शुभकामना ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।