कर्तव्य र गन्तव्य : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
१ आफैँमा छ बिना खोज्छ
बास्ना कस्तुरी खै कता ?
आफैँमा सम्पदा लाखौँ
लाख छन् दान माग्नु छ ।
२ बने कानुनका ठेली
कार्यान्वयन शून्य छ
तसर्थ उन्नति भन्ने
यस्तै हो भन्नुपर्दछ ।
३ मानौँ कानुन यो भन्ने
बिछट्ट दौडिए पर
छाडावाद हुँदा के को
बन्थ्यो सम्मृध्दिको घर ?
४ नदी नाला हुँदा धेरै
तिर्खाले जनता मरे
थोपा थोपा जमाएर
अरूले प्रगति गरे ।
५ क्वै धनी धनले हो वा
सीपले बन्दछन् धनी ?
क्वै ज्ञानी दिलले हुन् वा
ठूलो पढाइले हुने ?
६ हिँडे विश्वासको बाटो
मिल्छ गन्तव्यको चुली
हिँडे कुकर्मको बाटो
लक्ष्य मिल्दैन मामुली ।
७ आफैँ सिँगार्नु पर्नेछ
आफ्नो घर गरी श्रम
विलाएर कतै जान्न
आफ्नो चोखो परिश्रम ।
८ बाटो हिँड्न नजान्नेले
लक्ष्य भेटाउला कहाँ
धान गोड्न नजान्नेले
भोक मेटाउला कहाँ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।