अधिकतम सहमतिमा संविधान जारी हुन्छ ः एमाओवादी अध्यक्ष दाहाल

अधिकतम सहमतिमा संविधान जारी हुन्छ ः एमाओवादी अध्यक्ष दाहाल

काठमाडौँ, ११ साउन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अधिकतम् सहमतिमा संविधान जारी हुने बताउनुभएको छ ।

दाहाल निवास लाजिम्पाटमा आज रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव आइसकेकाले सबैको चित्त बुझ्दो संविधान आउने बताउनुभयो ।

एमाओवादी अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने सुझाव देशभरबाट आएको र यसलाई कसरी समेट्ने भन्नेबारे दलीय छलफल चलिरहेको जानकारी दिँदै उक्त विषयउपर सहमति भए पनि नभएपछि संविधान निर्माण कुनै पनि हालतमा नरोकिने प्रष्ट पार्नुभयो ।

“राजनीतिक स्थिरता, आर्थिक समृद्धि र परिवर्तनलाई सम्बोधन गर्न प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचित हुनु सान्दर्भिक हुन्छ । देशभरिबाट सुझाव पनि आएको छ, यो विषय छलफलमै छ, सहमति भइसकेको छैन, तर हामी यही कारणले संविधान निर्माण प्रक्रिया रोक्ने छैनौँ, कुरा मिलेन भने पनि संविधान निर्माणलाई रोकेर फेरि बहस गर्नेतिर लाग्दैनौँ” –उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले मधेस केन्द्रित दल तथा संविधानसभा बाहिर रहेका दलहरुको भावनाअनुरुप सङ्घीयताको सीमाङ्कनसहितको संविधान ल्याइनुपर्छ भनेर अधिकतम सहमति खोज्ने प्रयास भइरहेको र त्यस विषयमा आफूले मधेसी प्रमुख नेताहरुसँग कुराकानी गरेकामा उहाँहरु सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

धार्मिक स्वतन्त्रताबारे जनताबाट विभिन्न सुझाव आएको हुनाले यसलाई पनि जनताको मनोभावनाबमोजिम शब्द संयोजन मिलाएर सबैलाई चित्त बुझाउनुपर्छ भन्नेतर्फ छलफल केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले संविधानमा प्रेसमाथि अङ्कुश लाग्ने कुनै प्रावधान राखिनुहुन्न भन्दै प्रेसको सन्दर्भमा मस्यौदा संशोधन भई पूर्ण प्रेस स्वतन्त्रता कायम हुने र प्रेसले पनि आफ्नो आचारसंहितालाई इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको टोलीले संविधानको प्रारम्भिक मस्यौदामा प्रेससम्बन्धी राखिएका प्रावधान प्रेसलाई अङ्कुश लगाउने किसिमको रहेको भन्दै संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता राखिनुपर्ने मागसहितको ज्ञापन एमाओवादी अध्यक्ष दाहाललाई बुझाएको हो ।

तपाइँको प्रतिक्रिया ।