राजधानीमा आपूर्ति हुने खानेपानीको मुहानमा ढल मिसियो
गोकर्णेश्वर नगरपालिका, ३० असार । काठमाडौँ उपत्यकामा ल्याइएको खानेपानीको मूलस्रोतमाथिको ओखरेनी गाउँका अधिकांश शौचालय वैशाख १२ को भूकम्पले भत्किएपछि दिसापिसाब वर्षाको भलसँग खानेपानीको पानी सङ्कलन केन्द्र (रिजभ्र्वायर) मा मिसिन थालेको छ ।
काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिकाको ओखरेनी गाउँका ३६० घरधुरीमध्ये अधिकांशका शौचालय भूकम्पले भत्किएका छन् । भत्किएका घरको संरचनाले शौचालय पुरिँदा स्थानीयवासी खुला ठाउँमा दिसापिसाब गर्न बाध्य छन् ।
खुला ठाउँमा गरिएको दिसापिसाब वर्षाको बाढीले कुने, ओखरेनी र चिलाउने गाउँका सातवटा खोलामार्फत सुन्दरीजलमाथिको वाग्मतीमा मिसिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्रोतबाट निस्कने पँधेरी, वेल्डुङ, गण्डुलङ, लोकण्डा, डोण्डरी, छरछरे र खर्कखोलाले गर्दा गाउँको फोहर सिधै उपत्यकामा ल्याइएको पानीको मुहानमा आउँछ ।
खानेपानीको स्रोतमाथिको गाउँबाट निस्केको फोहर वाग्मतीमा मिसिन्छ । निकुञ्जबीचको गाउँमा जङ्गली जनावरले दुःख दिने भएकाले बस्ती सार्न विसं २०४९ देखि माग गर्दै आइएको सुन्दरीजल गाविसका पूर्वउपाध्यक्ष पूर्णबहादुर तामाङले बताउनुभयो ।
“त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकहाँ माग लिएर जाँदा स्थानीय विकास मन्त्रालयलाई बस्ती सार्ने सम्भाव्यता अध्ययन गर्न निर्देशन दिनुभयो, पछि मध्यावधि निर्वाचनले त्यो प्रक्रिया रोकियो”–उहाँले भन्नुभयो ।
पहिले गाउँमा बाटो हिँड्न नहुने गरी खुलारुपमा दिसापिसाब गरिएको फोहर हुन्थ्यो । विभिन्न जनचेतनाका अभियानले स्थानीयवासीले क्रमशः शौचालय बनाउन थालेका थिए । पछिल्लो समय ९० प्रतिशत भन्दा बढी घरमा शौचालयको निर्माण भइसकेकामा भूकम्पले ९५ प्रतिशत शौचालय भत्काएको छ ।
बस्तीकी ७७ वर्षीया ठूलीकान्छी तामाङ डेढ लाख रुपैयाँ खर्च गरेर बनाएको सेफ्टी ट्याङ्की र शौचालय भूकम्पले भत्किएको घरको संरचनाले पुरिएको बताउनुहुन्छ । “पहिले वर्षाको जोहो गरेर शौचालय बनाइएको थियो, भूकम्पले सबै चीजबीज नष्ट गरेको समयमा शौचालय बनाउने काम प्राथमिकतामा पर्दैन”–उहाँले भन्नुभयो ।
“पहिलेभन्दा फोहर बढ्न थालेको छ, गाउँमा हिँड्न नसकिने गरी गन्ध आउन थालेको छ, सफामा बस्न पाएका थियौँ, फेरि नरकजस्तै भयो”, ७४ वर्षीया वृद्धा सन्तमाला तामाङले भन्नुभयो ।
निकुञ्जभित्रका गाउँमा हुने सबै किसिमका फोहर सिधै वाग्मतीमा पुग्ने गरेको छ । गाउँमा जङ्गली जनावरले दुःख दिन्छ । बारीमा लगाइएको कोदो र मकै उठाउन नपाइ जङ्गली जनावरले खाइदिन्छ । रक्सी बनाएर बेच्नु यहाँको जीवन धान्ने आधार बनेको छ । रक्सी बनाउँदा जम्मा हुने फोहर पनि सिधै वाग्मतीमा मिसिने गरेको छ ।
“बस्नका लागि शान्त स्थान भए पनि उपत्यकामा स्वच्छ पानी लैजान चार हजार रोपनी क्षेत्रफलमा फैलिएको बस्ती सार्न माग गर्दै आएका छौँ”, पूर्व उपाध्यक्ष तामाङले भन्नुभयो । करिब ३०० वर्षअघि भक्तपुरको नगरकोटबाट तामाङ समुदाय यो गाउँमा सरिआएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक चन्द्रलाल नकर्मी माथिबाट आएको फोहर पानी प्रशोधन गर्ने राम्रो व्यवस्था सुन्दरीजल र महाँकालचौर शाखामा गरिएको बताउनुहुन्छ ।
“रासायनिक पदार्थ धेरै लागे पनि कोलिफर्म नहटेसम्म प्रशोधन गर्ने प्रणालीको व्यवस्था गरिएको छ, गाउँबाट आएको फोहरले उपत्यकामा आउने पानीमा फरक पर्दैन, जीवाणुरहित हुनेगरी प्रशोधन गरेरमात्र पानी वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
ढुङ्गा माटोले बनेको सबै घर भत्किएपछि स्थानीयवासी पाल र जस्तापाताको अस्थायी टहरामा बसेका छन् । स्वच्छ पानी पिउन मुहानमाथिको बस्ती सार्नुपर्ने निष्कर्षमा पुगिएको गोकर्णेश्वर नगरपालिकाको राजनीतिक संयन्त्रका सदस्य एवम् नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सचिव श्रीकृष्ण ज्योति बताउनुहुन्छ ।
“उपत्यकामा स्वच्छ पानी आपूर्ति गर्न र निकुञ्जभित्र कष्टमय जीवन बिताइरहेका स्थानीयलाई गुणस्तरीय जीवनयापन गराउन बस्ती सार्नुपर्ने निष्कर्षमा पुगेका छौँ, नगरपालिका घोषणा गरिएको स्थानमा न्यूनतम आवश्यकता पूरा गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
निकुञ्जभित्र सडक निर्माण गर्न नदिएकाले पनि यहाँका मानिस कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पूर्व गाविस अध्यक्ष निमा शेर्पालाई निकुञ्ज हुँदै गाउँ बस्तीसम्म सडकको ट्र्याक खोलेका कारण विसं २०५७ मा नेपाली सेनाले समात्न खोजेपछि स्थानीयवासीको जुलुस उठेर दबाब दिएपछि छोडिएको थियो ।
“निकुञ्जभित्रको गाउँबस्तीमा सडकलगायत भौतिक पूर्वाधारका संरचना लैजानका लागि १५ वर्षदेखि सङ्घर्ष गर्दै आएका छौँ, सडकमा बिछ्याएको ढुङ्गा, गिटी र बालुवाको पनि कर तिर्दै आएका छौँ, कि यहीँ विकास निर्माणका काम गरेर जनजीवन सहज बनाउनुप¥यो नभए बस्ती सार्नुप¥यो”, उहाँले भन्नुभयो ।
निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहता निकुञ्जभित्रबाट ढुङ्गा र बालुवा उत्खनन गरेर बाहिर लान रोकिएको बताउनुहुन्छ । “पहिलेदेखि बाटो र बस्ती भएको स्थानको सडक रोकेका छैनौँ, प्राकृतिक स्रोतसाधन उत्खनन रोकेका हौँ”, उहाँले भन्नुभयो ।
आव २०७१÷२०७२ को जिविस काठमाडौँको बजेटले सुन्दरीजलको महाँकाल गाउँबाट निकुञ्जभित्र नुवाकोट जिल्लाको छाप गाविससँग जोडिएको कुने गाउँसम्मको सडकमा ढुङ्गा बिछ्याउन लाग्दा निकुञ्ज प्रशासनले रोकेको स्थानीयवासीको गुनासो छ ।
खानेपानी तथा ढल निकास विभागले भूकम्पपछि गठन गरेको खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिका सदस्य एवम् विभागको मध्यमाञ्चल क्षेत्रीय कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर टीकाबहादुर चौधरी यससम्बन्धी जानकारी हालसालै प्राप्त भएकाले अनुगमन गरिने बताउनुहुन्छ ।
उपत्यकामा सुन्दरीजलबाट सबैभन्दा बढी खानेपानी आपूर्ति हुँदै आएको छ । वर्षाद्मा दैनिक पाँच करोड २० लाख लिटर र सुक्खा मौसममा दैनिक दुई करोड ६० लाख लिटर पानी आपूर्ति हुँदै आएको लिमिटेडले जनाएको छ ।