कपनमा बालेन सरको डोजरले कुल्चिएका हजार सपनाहरु ………..

कपनमा बालेन सरको डोजरले कुल्चिएका हजार सपनाहरु ………..

कपन अनलाइन
काठमाडौं, भदौ ६/पुन्यराज पुडासैनी 

साउन २५ गते देखि कपन क्षेत्रमा केहि दिन निकै ठुलो डोजर जात्रा चलेको थियो। काठमाण्डौ महानगरपालिका वडा नं ७ र बुढानिलकण्ठ नगरपालिका वडा नं  १० को सिमानामा महानगरले खोला खोल्ने भन्दै डोजर लिएर आए संगै शुरु भएको जात्रा आरम्भ चोक सम्म खोला खोलेर अहिले केहि मथ्थर भएको छ।

अहिले सो क्षेत्रमा खोला खोलिएको छ भने त्यस क्षेत्रका सयौ घरधुरीका जनताहरु भने बाटो बिहिन बनेर निकै कस्टकर र असहज जीवनयापन गर्न बाध्य बनेका छन। सो क्षेत्रमा डोजर चल्दै गर्दा खोला खोल्ने पर्छ भनेर ब्यानर र नारा बोकेर उफ्रिएका धेरै मान्छेहरु बाढी र डुवानबाट धेरै टाढा रहेको आफ्नो सुरक्षित बासस्थानमा बसेर बालेन सरको  गुनगान गाउदै होलान तर आफ्नो जीवन भरीको कमाइ खर्चिएर बासस्थान बनाएका धेरै जना भने अभिसप्त्त बनेर आशुका भेल बगाइरहेका छन।

साततले देखि मिलनचोक सम्म बुढानिलकण्ठ तर्फ र मिलनचोक देखि आरम्भ चोक सम्म काठमाण्डौ महानगर तर्फका सयौ घरहरु बाटो बिहिन नाकाबन्दीमा परेका छन भने कतिपय संरचना कुन बेला ढलेर ठुलो जनधनको क्षती पुरुयाउने हुन् त्यसको अनुमान समेत गर्न सकिने अवस्था छैन।

यहाँ यो आलेख लेखिरहदा खोला क्षेत्रमा देखिएको गाली गलौच सहितको  संवेदनाहिन परिदृश्य सामाजिक संजालमा पुन नदेखिएला भन्न सकिन्न तर पनि बालेन सरको एउटा निर्देशनले कुल्चिएका हजार सपनाहरुका वारेमा बोल्ने पर्नेछ। किनकी यहाँ रहेका महानगर र नगरका जनता ( स्वयं बालेन सरका धेरै मतदाता ) समेत डोजरको कहरमा परेर आशुको नहरमा डुब्न बाध्य बनेका छन भने खुल्ला खोलाले निम्त्याउने जोखिमका वारेमा पनि गम्भीर बनेर सोच्नुपर्ने देखिएको छ।

अहिले खोला खोलिएको क्षेत्रमा स्थलगत अवलोकन गर्दा कतिपय संरचना ढल्ने जोखिममा देखिएका छन भने ठुलो जनशंख्या बाटो बिहिन बनेको छ। घर छ निस्कने बाटो छैन ,पसल छ ग्राहक आउने बाटो छैन ,स्कुल छ विद्यार्थी हिड्ने बाटो छैन ,कारखाना छ सामान ढुवानी गर्ने बाटो छैन यस्तै यस्तै धेरै अनौठा र असजिला लाग्ने दृश्यहरु थुप्रै देख्न सकिन्छ अहिले शक्तिशाली नगर प्रमुख बालेन सरले नेतृत्व गरेको महानगरको उत्तरपूर्वी कुनामा।

अहिले सो क्षेत्रको खोला खोल्दा काठमाण्डौ महानगरपालिका वडा नं ७ लाइ तुलनात्मक रुपमा कम क्षती पुगेपनि वडा नं ६ र बुढानिलकण्ठ नगरपालिकाका क्षेत्रमा भने बहुआयामिक अशरहरु देखिएका छन जस मध्ये केहीका वारेमा यहाँ चर्चा गरिएको छ।

१.हठात् हट्यो प्रमुख तरकारी बजार,करोडौको क्षती

कपन मिलनचोकको तरकारी बजार बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा ठुलो बजारका रुपमा विकसित भएको थियो जसबाट काठमाण्डौ महानगरपालिकाकापनि  हजारौ स्थानीयहरु लाभान्वित हुदै आएका थिए। मासिक करिव २० करोड भन्दा बढीको कारोवार हुने सो बजार अहिले खुल्ला खोला र बाटो बिहिन पसलहरुमा परिणत भएको छ।

मिलनचोक तरकारी बजार  सो क्षेत्र निकै ठुलो ब्यापारिक केन्द्रका रुपमा विकसित भएको थियो। दुई सृजनशील युवाहरु राम प्रसाद भट्टराई र सुबिन चालिसेले एउटा ट्रस बनाएर शुरु गरको तरकारी बजार पछिल्लो समय कपनको असनका रुपमा विकसित बनेको थियो। तर अहिले सो क्षेत्र सकिएको मात्र छैन त्यहा रहेका सयौ ब्यापारीहरुको सपना र रोजीरोटीको बाटो पनि समाप्त पारिदिएको छ।

केहि थान क्यामरा र बुम बोकेर वडा अध्यक्ष र नगरप्रमुखको घर सम्म अनेक चटक देखाउदै पुगेका अभियन्ताहरुले त्यहा भएको यति ठुलो गैरमानवीय कार्यलाई नदेख्नुलाई भने सायद मानवीय संवेदना हराएको एउटा ज्वलन्त नमुना भन्न सकिएला। यहाँ सडकमा राखेर ब्यापार गर्न पाइन्छ त् ? भन्ने प्रश्न उठ्ला पक्कै पाइदैन तर पनि जनताको ज्यान र धनको सुरक्षा गर्ने कसम खाएर बनेका जनप्रतिनिधिको मुख्य दायित्व जनताको उचित जीवनयापनको व्यवस्थापन पनि हो जुन सभागृह तिर बस्नु भएका बालेन सर ले देख्नु भएन वा आफ्नै प्रसंशाका पुल बाधिएका सामाग्रीमा रमाउदा यता तिर ध्यान गएन, त्यो उहालाई नै थाहा होला !

२. ठुलो जनधनको क्षति र विद्यार्थीहरु मौलिक हकबाट बन्चित हुने सम्भावना  

अहिले खोला खोलिएको स्थानमा धेरै घरहरु निकै ठुलो जोखिममा परेका छन । बाटो बिहिन बनेको पिडा संगै जग भन्दा तल डोजरले खनिदिदा कतिपय घरहरु लड्ने सम्भावना निकै बढेको छ।

दर्जनौ घरहरु उच्च जोखिममा देखिएका छन भने केहि घरहरुको जगमा समेत गम्भीर अशर पुगेको छ। अहिले वर्षातको समय रहेको छ र निरन्तर पानी परिरहेको छ। यसरि निरन्तर परेको पानीबाट सो खोलामा बाढी आएको खण्डमा ति घरहरुमा प्रत्यक्ष अशर पर्ने देखिन्छ जसको परिणाम धेरैले बास स्थान गुमाउने छन तर यसको क्षतिपूर्ति कसले दिने र के हुने ? त्यो भने अन्यौल मै रहेको छ।

त्यति मात्र हैन बालेन सरले खोला खोल्न डोजर चलाउदा अहिले सो क्षेत्रका हजारौ विद्यार्थीहरुको भविस्य माथि पनि डोजर चल्ने खतरा देखिएको  छ। खोला खोलिएको क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थी जाने बाटो समेत राखिएको छैन। अहिले कतिपय स्थानमा राखिएको ह्युम पाइपको फड्के पनि निकै जोखिमयुक्त देखिएको छ जसलाई अब आउने बढीले जुनसुकै बेला बगाएर लैजाने देखिन्छ त्यस पश्चात ति विद्यार्थी कसरि विद्यालय जान्छन ,सायद टिकटक लाइभमा अलि समय दिनु परेकोले बालेन सरले यतातिर सोच्न भ्याउनु भएको छैन होला।

त्यति मात्र हैन खोला खन्नु भन्दा अगाडी सो क्षेत्रमा कुद्ने सयौ स्कुल बसले बोक्ने हजारौ विद्यार्थी र तिनका अभिभावकहरुले अहिले भोगिरहेको मानसिक यातना कुनै खतरनाक बन्दिगृहका कैदीलाई दिने यातना भन्दा कम छैन होला। अनि खुल्ला खोलामा परेर कुनै बालकले ज्यान गुमाउदा सिर्जना हुने अवस्थालाई सायद डोजर अगाडी पछाडी कुद्ने अभियन्ताहरुले पनि सोचेका छैनन् होला।

३. माननीय गगन थापाले देखेको परियोजनाको सपनामा तुषारापात हुने संभावना   

कपन क्षेत्रलाई बाढी र डुवानले निकै सताए संगै हरेक चुनावमा उठने पेचिला प्रश्नका काडाहरुलाई अलि बोधो बनाउने प्रयास स्वरूप तिन पटक प्रत्यक्ष र एक पटक समानुपातिक गरेर चार पटक यस क्षेत्रको सांसद रहेका गगन कुमार थापाले बृहत परियोजनाको अवधारणा ल्याएका थिए।

डुवान र बाढीका कारण वर्षातको समयमा कपन आउन समेत निकै मुस्किल परेपछि नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले ल्याएको बृहत परियोजनाको प्रस्थान बिन्दुमै डोजर चलेको छ। बक्स कल्भर्ट निर्माणका लागि टेन्डर भएर ठेक्का समेत लागिसकेको समयमा खोला खोलिए पछि अहिले परियोजनाको औचित्य र भविष्य माथि नै प्रश्न उठेको छ।

केहि समय अगाडी मात्र निकै ठुलो तामझाम सहित डोजर ल्याएर बक्स कल्भर्ट निर्माणको काम शुरु भएको घोषणा गरिएको थियो जसलाई  अहिले बालेन सरको डोजरले तहसनहस मात्र पारिदिएको छैन प्रभावशाली सांसदको सपनामा तुषारापात पनि गरिदिएको छ।

४. अनिश्चय र खतराको भुमरीमा माथिल्लो यज्ञमति र चखुंचा क्षेत्रका स्थानीयहरु     

सात तले देखि आरम्भ चोक सम्म खोला खोलिए संगै सो क्षेत्र भन्दा माथिका स्थानीयहरु अहिले अनिश्चय र खतराको भुमरीमा पिल्सिएका छन। आरम्भ चोक देखि कपन फैका चोक सम्म पनि खोला खोलिने हल्ला संगै त्यस क्षेत्रका स्थानीयहरु दैनिक रुपमा वडा कार्यालय धाउन थालेका छन। उनीहरु सो क्षेत्रमा के हुने ? भन्ने  प्रश्न बोकेर वडा कार्यालय पुगे पनि कुनै ठोस उत्तर पाउन सकेका छैनन्।

बक्स कल्भर्ट निर्माण संगै तुलनात्मक रुपमा बाढी र डुवानको कम क्षती व्यहोरेका आरम्भ चोक देखि फैकाचोक सम्मका स्थानीयहरु अहिले अनिश्चित भविष्यको भुमरीमा निकै पिरोलीइरहेको देखिन्छ भने बुढानिलकण्ठ नगरपालिका तर्फ निर्माण भैरहेको बक्स कल्भर्ट निर्माणको भविष्य पनि अनिश्चित बनेको छ।

५. अघोषित नाकावन्दीमा कपन र रमिते स्थानीय  राजनीतिक दलहरु       

साउन २५ गते काठमाण्डौ महानगरपालिकाको डोजरले साततलेमा डोजर हान्न शुरु गरे संगै प्रतिवाद गरेका बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईको राजनीतिक प्रयासलाई ब्यक्तिकरण गर्दै चरम प्रचार भएको छ।

एउटा राजनीतिक दलको नेताका रुपमा आफ्नो वडाका जनताहरुलाई उचित व्यवस्थापन गर्नका लागि सहमति र ठोस योजनाको माग गरेका भट्टराईको पहललाई व्यक्तिगत फाइदा संग जोडेर अमानवीय रुपमा प्रचार गरिदा समेत बुढानिलकण्ठका कुनै पनि राजनीतिक दलले चु सम्म नगर्नुले यहा विकसित भैरहेको असहिष्णु राजनीतिक संस्कारलाई उदांगो पारिदिएको छ।

बुढानिलकण्ठका राजनीतिक दलहरुको मौनता र प्रस्तुति हेर्दा लाग्छ वडा अध्यक्ष भट्टराईको प्रतिकार उनि र उनको  पार्टीका लागि मात्र हो ! तर यहा दलहरुले यो आफ्नो राजनीतिक मैदान रहेको बुढानिलकण्ठ नगरपालिकाको पहिचान र गरिमा माथिको प्रहार हो भन्ने बुझेनन् वा बुझ्न चाहेनन् ? त्यो भने भविष्यले पक्कै बताउने नै छ। यसमा वडा अध्यक्ष भट्टराई कै दल नेकपा एमाले पनि धेरै ठाउमा नराम्रो संग चुकेको देखियो।अब मुख्य नाका  तर्फका सडक बन्द हुने अवस्थामा कपन क्षेत्रले  अघोषित नाकावन्दीको सामना गर्नुपर्ने देखिन्छ भने मुख्य मार्गका रुपमा रहेको क्षेत्र खोलामा परिणत भए संगै यसले ठुलो अर्थ राजनीतिक अशर समेत पार्ने देखिन्छ।

साततले बाट आरम्भ चोक सम्म खोला खोल्ने क्रम चलिरहदा हिजो खोलामा ढल हाल्ने कामको नेतृत्व गरेका व्यक्तित्वहरु समेत बालेन सरको डोजरको अगाडी पछाडी स्कर्टिङ गर्दै हिडेको देखेका धेरै स्थानीयहरुले निकै उदेक मानेर हेरिरहेका थिए।

सो समयमा साततले देखि मिलनचोक र मिलनचोक देखि आरम्भ चोक सम्म ढल हाल्ने कार्यको नेतृत्व गर्ने उपभोक्ता समितीमा को को रहेका थिए ? त्यो पनि खोजीको विषय बनेको छ। कतिपय अहिले अभियन्ता बनेका हरुनै त्यस वेला समितीमा रहेको चर्चा चलिरहेको समयमा पक्कै त्यसको खोजि हुनेनै छ ।क्रमस :

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।