व्यापारघाटा सात प्रतिशतले बढ्यो

व्यापारघाटा सात प्रतिशतले बढ्यो

काठमाडौँ, २९ असार । चालु आर्थिक वर्षको ११ महिनाकोे कुल व्यापारघाटा रु छ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले वृद्धि भई देशको व्यापारघाट थप चुलिएको हो ।

5fe6857c2e2ac231521022bf0425f14f

परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएका कारण समग्र निकासीमा नकारात्मक असर परेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक सुयस खनालका अनुसार समीक्षा अवधिमा अधिकांश प्रमुख वस्तुको आयातमा भने उल्लेख्य वृद्धि भएको देखिन्छ ।

सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई रु सात खर्ब ७२ अर्ब १३ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.१ प्रतिशत र ८९.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल निकासीमा ५.८ प्रतिशतले कमी आई रु ७८ अर्ब छ करोड तथा कुल पैठारीमा ५.८ प्रतिशतले वृद्धि भई रु छ खर्ब ९४ अर्ब छ करोड पुगेको छ ।

गत आवको ११ महिनाको अवधिमा निकासी तथा पैठारी व्यापारको अनुपात १ः ७.९ भएकामा चालु आवको सोही अवधिमा पनि निकासी–पैठारी व्यापारको अनुपात १ः ८.९ पुगेको छ । सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी, गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबटी आदि प्रमुख छन् ।

सोही अवधिमा फलाम तथा स्टील र तिनका उत्पादन, पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, औषधि, मसिनरी तथा पार्ट्स, पोलिथिन आदि पैठारी भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।