मन : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौ,साउन १३ ।
विषय जालमा थुनी थुनी
विविध कल्पना बुनी बुनी
थकित चित्त यो गराउँछस्
मन कता घुमी हराउँछस् ।१।
गगन भ्याउँछस् डुलीकन
वश लिऊँ भन्यो कुदिस् झन
पवनमा पसी कराउँछस्
विलखबन्द नै गराउँछस् ।२।
म छु यहाँ पुगिस् अमेरिका
र क्षणमै गएर अफ्रिका
फनफनी गरिस् दशैदिशा
लिनु परेन खै कतै भिषा ।३।
अक्षर कोर्छु यी भनी बसेँ
सलल चित्त यो बग्यो फसेँ
म खहरेतिरै छु भेलमा
मन पुगी सकेछ खेलमा ।४।
फटफटा जता घुमी डुली
बगर खोच वा उचा चुली
सुख कहाँ छ त्यो चिने हुने
अभयको बुटी किने हुने ।५।
दिलतिरै पसी रमाउँन
सहृदयी जगत् समाउँन
यदि सके जगै घुमाउँथिस्
प्रगतिको चुली चुमाउँथिस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।