रोल्पाको थवाङमा बम विष्फोट, पाँच घाइते, एकजना पुरिएको आशङ्का

काठमाडौँ, २६ असार । रोल्पाको थवाङमा आज बिहान ८ः३० बजे बम विष्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

थवाङ–१ चालवाङस्थित श्रीप्रसाद घर्तीमगरको घरमा बम विष्फोट हुँदा एकै घरका चारजना र पाहुना लाग्न आएका एक गरी पाँचजना घाइते भएका रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विष्फोटमा घर्तीमगरको दुईतल्ले घरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको र घर भत्किँदा श्रीप्रसाद सोही घरमै पुरिएको आशङ्का गरिए पनि पुष्टि हुन सकेको छैन ।

घाइते हुनेमा ४८ वर्षीय लयन घर्तीमगर, १८ वर्षीया अस्मिता घर्तीमगर, १७ वर्षीया षोडसी घर्तीमगर, १९ वर्षीया सोविता घर्तीमगर र धनीमान झाँक्री रहेको प्रजिअ शर्माले बताउनुभयो ।

घाइतेलाई उपचारका लागि सदरमुकामतर्फ ल्याइँदै गरेको बताइएको छ ।

आफ्नो घरमा बम विष्फोट भएको खबर श्रीप्रसादका छोरा निस्पट घर्तीमगरले बिहान ९ः३० बजे जिल्ला प्रहरी कार्यालयलाई गरेपछि घटनाबारे जानकारी भएको र तत्काल घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

सो स्थान सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ । अहिले उक्त स्थानलाई प्रहरीले सुरक्षा दिएको र रोल्पास्थित देवीदत्त गणबाट नेपाली सेनाको प्राविधिक टोली थवाङतर्फ गएको छ ।

सेनाको टोली आइतबार बिहानसम्ममा थवाङ पुग्ने र विष्फोटको कारण र कस्तो खाले विष्फोटक पदार्थ विष्फोट भएको भन्ने यथार्थ जानकारी आउने उहाँको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।