गोकर्णेश्वर नगरपालिकामा १८० घन्टे मन्टेश्वरी तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असार १७। गोकर्णेश्वर नगरपालिकामा १८० घन्टे मन्टेश्वरी तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा सिद्धिदात्री महिला समुहको आयोजनामा भएको तालिमको शनिबार समापन गरिएको हो ।
सिद्धिदात्री महिला समुहको अध्यक्ष तारादेवी फुयालको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा सदस्य सुमन लामा, चन्द्रलाल श्रेष्ठ, पूर्व नगर प्रवक्ता तथा वडा अध्यक्ष मनोज कुमार ढुंगाना, श्री बौद्ध नाथ क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठ ,समाजसेवी भावना ठकुरी, सरिता रिसाल, लेख कुमारी पुडासैनी, दीपकसिंह भण्डारी लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा २८ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपककुमार रिसालले मन्टेश्वरी तालिम जस्ता सीपमुलक र आयआर्जनमुलक तालिमलाई नगरपालिकाले महत्व दिदै आएको बताएका थिए । नगर प्रमुख रिसालले यस्ता तालिमले क्षमता अभिवृद्धिका साथै रोजगारी अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।उनले उक्त तालिम तालिम मात्र नभएर शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउने उदेश्यले आयोजना भएको बताउदै सिकेका शिप व्यवहारमा लागु गर्न समेत प्रशिक्षार्थीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले भौतिक विकास सहित सामाजिक विकासमा गोकर्णेश्वर नगरपालिकाले प्राथमिकता दिएको बताएका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले शैक्षिक विकासका लागि वडा कार्यालय सँधै सहकार्य गर्न तत्पर रहेको बताएका थिए।
वडाअध्यक्ष श्रेष्ठले नतिजा देखिने सामाजिक विकासका कामलाई आगामी वर्षहरुमा पनि प्रोत्साहन गर्ने बताएका थिए । कार्यक्रममा पूर्व नगर प्रवक्ता तथा वडा अध्यक्ष मनोज कुमार ढुंगानाले नगरपालिकाले सामाजिक विकास र महिला सशक्तिकरणलाई विगतका वर्षदेखि नै महत्व दिएकोले यस्ता कार्यक्रमबाट लक्षित वर्गले लाभ लिनु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा समाजसेवी दिपक सिह भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै सिद्धिदात्री महिला समुहकी अध्यक्ष तारादेवी फुयालले नगरपालिकाले सीपमुलक तालिमका लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु हुँदै तालिमले नगरपालिका क्षेत्रमा योग्य शैक्षिक जनशक्ति उत्पादनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।