विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिए: हरिबोल गजुरेल
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
पुष्पलाल अध्ययन केन्द्रले पुष्पलाल जन्म शताब्दी समारोह समिति बनाई विविध कार्यक्रम गर्ने भएको छ । अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको हो । पुष्पलालको जन्मजयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए ।
पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापको भंगेरीमा जन्मिएका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता÷कार्यकर्तालाई पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराईले बताए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गरेका छन् । पुष्पलालको योगदानका कारण अहिले लगभग ७० प्रतिशत मत कम्य्निष्टहरुको पक्षमा रहेको दाबी गर्दै उनले कम्युनिष्टहरुले उनको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा छाएको बताए ।
नेपालमा अहिले रहेका साना तथाठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी रहेको उनले बताए । उनले रामेछापलाई कम्युनिष्टहरुको उद्गमस्थलको रूपमा चिनाउन चाहेको उनको बताए ।
उनले रामेछापको पुष्पलाल पार्कमा पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र कृष्णलाल अधिकारी र गंगालालको शालिक निर्माणको थालनी भएको भएपनि अपुरो अवस्थामा रहेको बताए । उक्त कार्य अहिले असरल्ल अवस्थामा रहेको र करिब पचास लाखभन्दा बढी भुक्तानी बाँकी नै रहेको उनको भनाई छ ।
‘रामेछापमा पुष्पलाललगायत पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र सुब्बा कृष्णलाल अधिकारी र गंगालालको सालिक एकैचोटी पुष्पलाल पार्कमा स्थापना गर्ने भनेको पनि पाँच वर्ष भयो । त्यो सालिक बनाउन दिइएको छ र अहिले असरल्ल अवस्थामा छ । करिब–करिब पचास लाख त्यसलाई भुक्तानी दिनुपर्ने अवस्थामा छ,उनले भने ।
पुष्पलाल पार्क बनाउन सहयोग गर्नका लागि उनले सबै दलका नेता र सरकारसमक्ष आग्रह गरे ।सबै कम्युनिष्ट पार्टीका लिडरहरुलाई अध्ययन समाजको सल्लाहकार राखिएकोे बताउँदै उनले उक्त प्रस्ताव स्वीकार गरिदिन पनि आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्यान नसक्नेले विकल्प दिनपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिष्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई छ । पुष्पलालले आफ्नो जीवनकालमा जेजति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रसंशा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ ।
‘माओकै समयमा गएर विचारको विकास अवरुद्ध भयो । ८० वर्षको उमेर हुँदा माओ बोल्न सक्नुहुँदैनथ्यो । उहाँले बोलेको कुरा सुनिँदैन थियो । तर, पनि उहाँ नेतृत्वमा रहनुभयो । पछिल्ला दिनहरुमा जब आफू क्रियाशील हुन सक्दैन, आफ्नो भूमिका प्रभावकारी हुँदैन, वैचारिक राजनीतिमा योगदान हुँदैन भने त्योबेला विकल्पतिर जानुपर्ने र सोच्नुपर्ने मलाई लाग्छ । माओको जीवनकालको उत्तराद्र्धमा वैचारिक राजनीतिक अवरुद्ध हुँदा कम्युनिष्ट आन्दोलन बरालियो,’– उनले भने ।
पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिलेको यही तौरतरिका, विचार, नीति, आचरण र क्रियाकलापले अबको कम्युनिष्ट आन्दोलन समाजवाद र साम्यवादसम्म पुग्नेमा आशंका जन्मिएको उनको भनाई छ । विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएको उनको भनाई छ ।