राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ

काठमाडौँ, २३ असार । राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
President administers oath of office and secrecy to newly-appoin

सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

मङ्गलबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि आज प्रधानन्यायाधीशमा श्रेष्ठकोे पदबहाली भएको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि उहाँलाई यही असार १४ गते संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
प्रधानन्यायाधीशमा श्रेष्ठको कार्यकाल १० महिना रहनेछ ।

प्रधानन्यायाधीश श्रेष्ठको जीवनी

विस २००८ वैशाख १ गते बागलुङमा जन्मनुभएको नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट नेपाली र राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।

उहाँले नेदरल्यान्स्को इन्स्टिच्युट अफ सोसल साइन्सेसबाट अन्तर्राष्ट्रिय कानुन तथा विकासमा पोस्ट ग्राजुएट डिप्लोमा गर्नुभएको छ ।

विसं २०३१ मा शाखा अधिकृतका रुपमा उहाँ न्याय सेवामा प्रवेश गर्नुभएको थियो भने २०३६ सालमा जिल्ला न्यायाधीश हुनुभएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयका उपसचिव हुँदै २०४२ सालमा जनकपुर अञ्चल अदालतको न्यायाधीश भई कार्यभार सम्हाल्नुभएको थियो । विभिन्न पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०६२ सालमा जुम्ला पुनरावेदन अदालतका मुख्य न्यायाधीशमा नियुक्त उहाँ त्यही वर्षको अन्त्यमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को मस्यौदा लेखनमा समेत उहाँ संलग्न हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।