सहयोग सदुपयोग होस् भनेर लागेको छु : प्रम कोइराला

काठमाडौं,२२ आषाढ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको लागि स्वदेश तथा विदेशका दाताहरुबाट प्राप्त सहयोग रकम सदुपयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।     “सबैले आफ्नो पेट काटेर दिएको रकम दुरुपयोग नहोस भनेर लागेको छु,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफू सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो,“ सरकारका हरेक निकायमा पारदर्र्शिता, जवाफदेहिता र मितब्ययिता होस् भन्ने मेरो चाहना रहेको छ । मैले पहिले अधिक विवादमा आएकोले आर्थिक सहायता र चन्दा दिने परम्परा नै बन्द गरिदिए ।”

sahayog
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान आउने विश्वास व्यक्त गर्दै संविधान जारी भएपछि मुलुक शान्ति,स्थिरता,विकासको मार्गमा लाग्ने बताउनु भयो ।उहाँले भन्नुभयो,“ मुुलुकले ८ ÷१०बर्षमा कोल्टे फेर्छ ।”
भूकम्प पीडितलाई हिमालय बैंकको २ करोड
भूकम्प पीडितहरुको राहत र पुनस्थापना कार्यलाई सघाउनको लागि हिमालय बैंक लिमिटेडले २ करोड रुपैया प्रदान गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणा र वरिष्ठ महाप्रबन्धक इसाज गिलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बैकका प्रमुख सल्लाहकार हिमालय समशेर जबरा,विपिन हाडा र आत्माराम गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।
चार्टर्ड एकाउण्टेण्ट्स इन्स्टिच्यूटको २७ लाख
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाले भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्र्थापना कार्र्यमा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ४ हजार ४सय ८ रुपैया प्रदान गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष नरेन्द्र भट्टराईले  प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष भट्टराईले स्वदेश र तथा विदेशमा रहेका आफ्ना सदस्य, अध्ययनरत विद्यार्थीहरु र विदेशी लेखा व्यवसायीहरुलाई सहयोगको अपील गरेको जानकारी भएको थियो । संस्थाको अनुरोधमा सिपीए अष्ट्रेलियाबाट १०हजार अष्ट्रेलियन डलर, कन्फिडरेशन अफ एशिया एण्ड प्यासेफिक एकाउण्टेण्टस्बाट ४ हजार १ सय डलर,इन्स्टिच्यूट अफ चार्टर्ड एकाउण्टेण्ट्स बंगलादेशबाट १० लाख टाका र इष्टिच्यूट अफ कष्ट एण्ड म्यानेजमेण्ट्स एकाउण्टेण्ट्स बंगलादेशबाट ५ लाख टाका प्रधानमन्त्री राहत कोषमा आएको जानकारी गराउनु भएको थियो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष प्रकाश लम्साल,पूर्व अध्यक्ष मधुवीर पाण्डे,पार्षद मोहनकुमार पराजुली र कार्यकारी निर्देशक विनयप्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो ।
संस्थाले साँखुका भूकम्प पीडितहरुलाई कम्बल बाँडेको पनि जनाएको छ ।
शारदा विश्वविद्यालयको २७ लाख सहयोग
भूकम्प पीडितहरुको राहत र पुनस्थापनाको लागि शारदा विश्वविद्यालय नोयडा भारतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख रुपैया (२७ हजार डलर) सहयोग प्रदान गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विश्वविद्यालयका चान्सलर प्रदीप गुप्ताले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
शारदा विश्वविद्यालयले भूकम्प आएपछि ११ जनाको चिकित्सक टोली पठाएर उपचारमा सहयोग गरेको थियो । करिब ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहको सो विश्वविद्यालयले भूकम्प पीडित विद्यार्थीहरुलाई करिब ५ करोड रुपैया बराबरको छात्रवृत्ति दिएको जनाएको छ ।
एनजीओ फेडेरेशनको १४ लाख ९ हजार
भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन गैर सरकारी संस्था महासंघ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैया प्रदान गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष शर्मिला कार्कीले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा महासंघका गोपाल लम्साल,दयासागर श्रेष्ठ, कृष्ण गौतम, सुनिता सुनार, विष्णु थकाली लगायत उपस्थित हुनुहुन्थ्यो  ।

मकाउका नेपाली पुलिसले दिए १४ लाख
भूकम्प पीडित नेपालीलाई राहत र पुनस्थापना कार्यमा सघाउनका लागि मकाउ प्रिजन पुलिसमा कार्यरत नेपाली पुलिसको टीमले १४ लाख  ९ सय रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सो टीमका कृष्ण गौचन, राजेश उप्रेती,विकास मगर सहितको प्रतिनिधि मण्डलले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको थियो ।
संगीत नाट्य एकेडेमीको ३ लाख ४५ हजार
भूकम्प पीडित नेपालीलाई राहत र पुनस्थापना कार्यमा सघाउन नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले ३ लाख ४५ हजार ३ सय ७३ रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कायक्रममा प्रतिष्ठानका कूलपति भक्त श्रेष्ठ    (सरुभक्त)ले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कुलपति श्रेष्ठले भूकम्प आएपछि त्रसित भएका नेपाली नागरिकलाई सामान्य अवस्थामा ल्याउन मुुलुकका १ सय भन्दा बढी स्थानमा सांस्कृतिक चेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि बताउनु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका प्राज्ञहरु र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

पिपलवृक्ष सहकारीको १ लाख २५ हजार सहयोग
भूकम्प पीडित नेपालीको राहत र पुनस्थापना कार्यलाई सघाउन पिपलवृक्ष वचत तथा ऋण सहकारी संस्था नयाँ बानेश्वर काठमाडौंले १ लाख २५ हजार ५ सय ५१ रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष कोपिला शर्मा निरौलाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा रमादेवी भट्टराइ, संगीता आचार्य, बसन्ती पाण्डे, प्रतिभा शर्मा,प्रतिज्ञा पाण्ड,े इला शर्मा र कल्पना पाण्डेको उपस्थिति रहेको थियो ।
दियालो र छन्त्याल संघको सहयोग
भूकम्प पीडित नेपालीहरुलाई सहयोग गर्न दियालो विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैया प्रदान गरको छ भने नेपाल छन्त्याल संघले १ लाख रुपैया प्रदान गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।