कसैले छाती पिटे पनि संविधान जारी हुन्छ : नेता ओली
२२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महान् कार्यमा पार्टी अग्रसर भएकाले पार्टीलाई विवादमुक्त बनाई भावनात्मक एकतासाथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रारम्भिक मस्यौदा आज संविधानसभाबाट पारित हुने विश्वास व्यक्त गर्नुहुँदै नेता ओलीले जनताको रायसुझाव लिनका लागि मस्यौदासहित सभासद्का टोली साउनको आगमनसँगै जिल्ला जिल्लामा पुग्ने जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान जारी हुन नदिने, अन्यौलको अवस्था कायम राख्न खोज्नेले छाती पिटे पनि संविधान सम्भवतः साउनको मध्यसम्ममा जारी हुन्छ र त्यसपछि मुलुकमा राष्ट्रिय सरकार गठन हुन्छ ।”
नेता ओलीले भन्नुभयो, “राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्नुपर्दछ भनेर एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत अन्य दलले सुझाव राखेका तर आफूहरु चुपचाप सुनिरहेका छौं ।”
संविधानको प्रभावकारी कार्यान्वयन सहमतिबाट अगाडि बढाउने उल्लेख गर्नुहुँदै नेता ओलीले मुलुकलाई प्राकृतिक विपद्बाट उकास्नका लागि निर्माण कार्यलाई तीव्रता दिने स्पष्ट पार्नुभयो ।
उहाँले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यवस्था र मुलुकको विकासका लागि पर्यटन, उद्योग, कृषिको व्यवसायीकरणलगायतका कार्यप्रति प्रतिबद्ध हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।
मुलुकमा पारस्परिक एकता र सद्भावको कुरा गर्नुपर्ने स्पष्ट पार्दै नेता ओलीले भन्नुभयो, “मधेसीको नाममा भ्रम छर्ने कामका साथै जातीय, क्षेत्रीय विद्वेष फैलाउने कार्य भइरहेको छ, तर यो सफल हुँदैन ।”
उक्त कार्यक्रम नेकपा (एमाले) मोरङका जिल्ला अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस