बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) बास्केटबलमा ५३ टिम

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।
बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ समूह, सिनियर गल्र्सलाई ४ समूह र जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार गरिने छ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयास स्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिइन् ।
बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइने छ । एघारदिने प्रतियोगितामा जम्मा १ सय १० खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।