बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

कपन अनलाइन
काठमाण्डौ , जेठ १३। काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो । दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । काठमाडौंले थप २२ रजत र २५ कांस्य पनि जित्यो । डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो ।
चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरे । शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे । चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।
बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।

तपाइँको प्रतिक्रिया ।