ओखलढुंगा–निशंखे सडकको काम अलपत्र पार्ने ठेकेदार विरुद्ध प्रदर्शन,रामहरी विरुद्ध नारा लाग्यो
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१ ।
ओखलढुंगा सदरमुकामदेखि निशंखे भञ्ज्याङ सम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीयले ठेकेदार विरुद्ध विरोध प्रर्शन गरेका छन।
सडक चौडाई र ग्राभेलको काम अलपत्र पारेको भन्दै स्थानीयले ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध कारबाहीको माग गर्दै स्थानिय आन्दोलित भएका हुन् ।स्थानियले प्रदर्शनकारीले ओखलढुंगाका संघिय सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदीप कुमार सुनुवार विरुद्ध पनि नाराबाजी गरेका थिए।
आन्दोलित स्थानीयले ठेकेदार तामाङको तस्विरमा गोबर दलेर विरोध गरेका थिए ।स्थानिय आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा करिब दुई घण्टा सडक अवरुद्ध पारेका थिए ।
कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने गरि २०७६ पुस ९ गते ठेक्का लिएको थियो । कान्छाराम कन्ट्रक्सन प्रा.लीले १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लिएको थियो ।
ठेकेदार कान्छाराम रामेछापका काँग्रेस जिल्ला सभापति तथा संघिय प्रतिनिधिसभाका सांसद हुन् । उनको फर्ममार्फत स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले काम गरेका थिए ।
काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत नपाएको गुनासो छ । ठेकेदारले सडक निर्माणको काम अलपत्र पार्दा उक्त सडक खण्डमा यात्रा गर्ने नागरिकलाई जोखिम बढेको छ ।