मोटरसाइकल चोरीमा संलग्न बुढानिलकण्ठ -८ का गुप्ता सहित दुई जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न बुढानिलकण्ठ -८ का गुप्ता सहित दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१ ।

दुईपाङग्रे सवारी साधन चोरीमा संलग्न २ जनालाईहिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको मोतीहारी घर भईहाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ८ सुन्दरबस्ती स्थित गुप्ता मोटरसाइकल वर्कसप संचालन गर्ने राम प्रवेश गुप्ता र धादिङको गजुरी गाउँपालिका ७ का मनोज अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुईपाङग्रे सवारी साधन चोरी कार्यमा संलग्नहरूको खोजी गर्ने क्रममा काठमाडौँको तीनकुनेबाट शंकास्पद बा८४प ९२ ४८ नम्बरको ड्युक कम्पनीको मोटरसाइकललाई नियन्त्रणमा लिइ भौतिक एवं प्रविधिक परिक्षणको लागि श्री बजाज अटो लिमिटेड नक्साल पठाइएकोमाउक्त मोटरसाइकलमा अर्कै मोटरसाइकलको पाटपुर्जा फेरबदल गरिएको भनी कम्पनीबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको थियो ।
घटनाकोअनुसन्धान गर्ने क्रममा ट्राफिक प्रहरीले धादिङका अधिकारीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा गुप्ता मोटरसाइकल वर्कसपका संचालक राम प्रवेशसँग मिलि उनीहरूले प्रदेश ३(०२(०१३प ७८३४ नम्बरको ड्युक मोटरसाइकल चोरी गरी सोही मोटरसाइकलको पाटपुर्जा बा८४प ९२४८ नम्बरको मोटरसाइकलमा परिवर्तन गरेको बताएका थिए ।
प्रदेश ३ ०२ ०१३ प ७८३४ ड्युक मोटरसाइकल यही बैशाख १५ गते चुनीखेलबाट हराएको भनी दिनेश लामा तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
गुप्ता मोटरसाइकलवर्कसपमा चेक गर्दा शंकास्पद बा ४८ प २९०७ नम्बरको डिओ स्कुटर समेत ट्राफिक प्रहरीले बरामद गरेको थियो । वास्तविक नम्बर बा५९प ९० ८४ रहेको उक्त स्कुटर २०७९ साल जेठ २ गते कपनबाट हराएको भनी सृजना कुलुङले निवेदन दिएकी थिइन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाइबाट खटिएको टोलीले गुप्ता मोटरसाइकल वर्कसपमा थप चेक गर्दा विभिन्न किसिमका चोरीका मोटरसाइकल तथा स्कुटरहरूका पाटपुर्जाहरू समेत बरामद गरेको छ।
गुप्ता मोटरसाइकल वर्कसपमा चोरीका मोटरसाइकलहरू ल्याई त्यस्ता मोटरसाइकल र पाटपुर्जा विक्रीवितरण गर्ने गरेको भन्ने समेत अनुसन्धानबाट खुल्न आएको छ । नियन्त्रणमा लिएका अधिकारी र गुप्तालाई थप अनुसन्धानको लागि बरामद गरिएको मोटरसाइकल, स्कुटर र पाटपुर्जा सहित शुक्रबार प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोले स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्नु पर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जोड दिनु भएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपालप्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमानिवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।