गोकर्णेश्वरमा राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव सम्पन्न
कपन अनलाइन
काठमाडौं,बैशाख २६ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव सम्पन्न भएको छ शनिबार गोकर्णेश्वर ९ स्थित आरुबारीमा भएको उक्त प्रतियोगितामा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन । प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भएका छन ।
यसैगरी भिजन गुरागाईँ, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे ।पुरस्कृत गजलकारहरुलाई कार्यक्रमका प्रमुख अथिति बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, नगर प्रमुख दिपक कुमार रिसाल लगायत अतिथिहरुले पुरस्कृत प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना २० हजार रुपैयाँ प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यकासाथ गएको ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी गराएका थिए । नगर प्रमुख रिसालले देशको भाषा, साहित्य र संस्कृति संरक्षणका लागि नगरपालिका सदैब क्रियाशील रहने बताउँदै गजल महोत्सवको सफलताबाट अरु उत्साह थपिएको बताए ।
कार्यक्रममा पूर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतका वक्ताहरुले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताएका थिए ।
महोत्सवका लागि देशका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्याङ्कनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, नगर प्रवक्ता एबम वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा लगायत अन्य वडाका वडा अध्यक्ष तथा सदस्यहरु सहित साहित्य प्रेमी स्थानीयको उपस्थिति रहेको थियो ।