गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी गजल वाचन प्रतियोगिता गर्ने
कपन अनलाइन
काठमाडौं, बैशाख ११ । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी गजल वाचन प्रतियोगिता आयोजना गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा यहि वैशाख २३ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीको आरुबारी व्यङ्केटमा आयोजना गर्न लागिएको उक्त प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिने आयोजकले जानकारी गराएको छन ।
साथै प्रतियोगितामा भाग लिन आफ्नो गजल [email protected] मा बैशाख १५ गते भित्र पठाईसक्न समेत आयोजकले जानकारी गराएको छ, साथै बिस्तृत जानकारीको लागि ०१-४९१२१४० /९८४३२३४४५०मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु. ६० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिने नगरपालिकाले जानकारी गराएको छ ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति समेत रहनेछ । प्रतियोगितालाइ सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।यसैगरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्नुको साथै ।साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ ।
सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिदै आएको नगर प्रमुख दीपक रिसाल बताउछन् ।रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिदै जाने प्रमुख रिसालको भनाइ रहेको छ ।