चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ ।

बहाव यी मनका गीत फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव ब्यक्त्त गरिएको छ ।  बहाव घर घरको कथा हो । एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबिचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

यस गीतकाबारेमा संगीतकार सापकोटाले भने, यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत हो । यो गीत दर्शक श्रोताकालागि माया भावसंगैको बहावसँग वियोगान्तसम्म पुर्याउछ भन्ने लागेको बताए ।

यस्तै, गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मन भित्रको वेदनाहरू र जिन्दगीसँग निसासीको एउटा व्यक्तिको मन भित्रको बहावलाई यो गीत मार्फत व्यक्त गर्ने खोजिएको गीत हो । मैले गीत गाउँदा शब्दको भाव मै डुबेर गाएको थिए । मलाई आशा छ दर्शक श्रोताहरूले पनि यो गीत मन पराउनु हुन्छ ।’

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

यस  फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वतन्त्रता आफैँमा कैद गर्नेहरूका लागि मार्ग प्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताएका छन् ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

तपाइँको प्रतिक्रिया ।