सन्तुष्टि : रमेश सुबेदी (लघुकथा)

सन्तुष्टि : रमेश सुबेदी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

समुन्द्रको बिचमा माझी डुङ्गा रोकेर, आनन्दसङ्ग चुरोट पिउँदै थियो । एक महाजन मोटरबोट लिएर ऊ नजिकै पुगेर सोध्यो, ‘किन माछा नमारेर आरामले बसेको ?’
माझीले जवाफ दियो, ‘आजमलाई पुग्ने गरि मारिसकेँ ।’ महाजनले फेरि भन्यो, ‘अझ धेरै मारेको भएहुन्थ्यो नि !’
माझीले प्रति उत्तरमा भन्यो, ‘धेरै मारेर के घर्नु र ? अब भोलि मार्ने हो ।’
माझीको कुरा सुनेर महाजनले सुझायो, ‘जति धेरै मिहेनत, उति धेरै कमाइहुन्थ्यो । अर्को डुङ्गा किन्न सकिन्थ्यो । दिनदिनै अझ धेरै कमाइहुँदा, मेरो जस्तो मोटरबोट किन्न सकिन्थ्यो । यस्मा ईन्जिन जडान हुने हुँदाआफ्नु नियन्त्रणमा तिव्र गतिमा धेरै माछा छोटो समयमामार्न सकिन्थ्यो । धेरै कमाइ भए पछि धेरै मोज मस्ति गर्दै ऐस आराम गर्न पाइन्थ्यो ।’
माझीले सोध्यो, ‘त्यस पछि के हुन्छ ?’
महाजनले भन्यो, ‘धनी बनेर आनन्दको जीवनयापन गर्न पाइन्छ ।’
माझीले महाजनसङ्ग आँखा जुधायो । अनि पुरा आत्माविश्वासका साथ भन्यो, ‘तपाइँलाई के लाग्छ, म अहिले के गर्दै छु ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।