आकाश : त्रिलोचन आचार्य (कविता )

आकाश : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

दिएर छाहरी सधैँ तँ उभिईस् दरो बनी
जगाउँदै बसिस् सँगै छरेर दिव्य रोशनी
अकाश खासमा कहाँ अडिन्छ के गरी भनी
रहस्य जान्न झन् त्यतै चियाउँदैछु तैपनि ।

चरा उडेर आउँछन् विलाउँछन् कतातिर
छ मेघको त बास त्यैँ घुमी रहोस् जतातिर
बसेर जूनले त्यहीँ छर्यो  प्रकाश रातमा
रमाउँछस्कता बसी दिँदै खुसी तँहातमा ।

म हेर्छु दौडँदा हुरी रिसाउँदै छ को भनी
चट्याङ्ग डङ्ग ठोकिँदा सताउँदै छ को भनी
डराउला म झन् भनी तँज्योति यैँ पठाउँछस्
लगाम खै कहाँ छ यैँतँ घाम जून ल्याउँछस् ।

म उफ्रँदै समाउँला भन्यो सकिन्न क्यै गरी
सँगै बसी रमाउँला भन्यो सकिन्न क्यै गरी
र चित्रत्यो बनाउँला भन्यो सकिन्न क्यै गरी
छलाउँला चलाउँला भन्यो सकिन्न क्यै गरी ।

तँ यामयामको धनी तँ त्यो बतासको धनी
तँ रात शीतको धनीतँत्यो विशाल कम्पनी
विशाल पीण्ड पीण्डको रमेर खेल हेर्दछस्
मुरी मुरी छ प्रेम के स्वरुप रूप फेर्दछस् ।

उठ्यो उठेर भन्दछस् सकिन्छ टेक्न यो जग
बसेर माथि फुर्तिले सकिन्छ देख्न यो जग
खुला भनेर के भनौँ स्वयं ढपक्क ढाक्दछस्
रहस्य बुझ्न बेसरी स्वयं विकास माग्दछस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।