स्व. पत्रकार पवनलाल श्रेष्ठको १३ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र ८ । स्व. पत्रकार पवनलाल श्रेष्ठको १३ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।काठमाडौंको पूर्वी भेग साँखुबाट निरन्तर रुपमा समाचार सम्प्रेषण गर्दै जनतालाई सुसुचित गर्ने कार्य गरिरहेका लावण्य सन्देश साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक सभापति पवनलाल श्रेष्ठको स्वर्गारोहण भएको १३ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । सोमबार साँखुको भक्ति बेम्बो पार्टी प्यालेसमा विभिन्न संघ संस्थाको आयोजनामा गरिएको श्रद्धाञ्जली सभा लावन्य सन्देशका प्रवन्ध निर्देशक मिजेन्द्रकाजी श्रेष्ठको सभापतित्वमा भएको थियो ।सो शोक सभामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पवनलाल श्रेष्ठले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शोक सभामा उज्यालो एफ.एम.का पत्रकार कुमार रञ्जितले पवनलालको दुःखद निधनबाट पत्रकारिता क्षेत्रले एउटा असल पत्रकार गुमाएको बताउदै साँखु क्षेत्रले एउटा संकृतिको रक्षा गर्न, सम्पदालाई चिनाउन लागिपर्ने कुशल पत्रकार गुमाएको प्रति चिन्ता ब्यक्त गरेका थिए । उनले पवनलालसँग विगतमा गरेका सहकार्यको स्मरण गर्दै श्रेष्ठले थालेका कामलाई कसरी निरन्तरता दिन सकिन्छ त्यसका लागि हातेमालो गरेर अघि बढ्न आग्रह गरेका थिए ।यस्तै संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेलले पत्रकार श्रेष्ठको ब्यत्तित्व तथा पत्रकारिताको माध्यमबाट गरेको योगदानको चर्चा गरेका थिए । लावण्य सन्देश मार्फत गरेको कामले पवनलाल अमर रहेको उल्लेख गर्दै स्व. श्रेष्ठले उठाएका विषयबस्तुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
नगरप्रमुख रमेश नापितले पत्रकार पवनलाल श्रेष्ठले साँखुका सम्पदालाई चिनाउन, काठमाडौंको समग्र पूर्वी क्षेत्रको चिनारी गराउँदै अघि बढाउन महत्वपूर्ण भुमिका रहेको उल्लेख गरेका थिए । पत्रकार श्रेष्ठको निधनबाट शंखरापुर नगरपालिकाका साथै समग्र देशका लागि अपुरणीय क्षति भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।यस्तै शंखरापुर नगर उपप्रमुख समिता श्रेष्ठले पवनलाल श्रेष्ठले जहिले पनि आफूलाई अगाडि बढ्न हौसला र प्रेरणा दिएको स्मरण गर्दै श्रेष्ठको स्वर्गारोहण ज्यादै दुःखद र सहन नसक्ने पीडाको रुपमा रहेको बताइन । लावण्य सन्देशका लागि समस्या भए नगरपालिकाबाट सहयोग गर्न आग्रह गर्दापनि सहयोगको अपेक्षा नगरी आफू पत्रिका चलाउन सक्षम रहेको बताएको स्मरण गर्दै भावविह्वल भएकी थिइन । उप प्रमुख श्रेष्ठले लावण्यसन्देशलाई निरन्तरता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन ।
सो सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले उहाँको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्त गरेका थिए।डंगोलले जनतालाई सुसुचित गर्दै आएका पवनलालको मृत्युबाट सबै कामदार बर्गका लागि अपुरणीय क्षति भएको उल्लेख गरेका थिए । सञ्चार क्षेत्रमा पवनको अभाव सधैभरी खट्किरहने कुरा औंल्याउँदै शोकको घडीमा धैर्य धारण सँगै शोकलाई शक्तिमा बदल्न सुझाव दिएका थिए ।साथै स्वर्गीय पवनलालले छाडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न लावण्य सन्देशको निरन्तरता कसरी दिन सकिन्छ त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।उनले काठमाडौं उपत्यकामा अनियन्त्रित ढंगले चल्ने टिप्परका कारण वरिष्ठ पत्रकारको निधन भएको भन्दै हरेक दिनजसो यस्तो घटना घट्ने गरेको उल्लेख गर्दै उपत्यकामा टिप्पर गुडाउन रोक नलगाउने हो भने हजारौं मानिसको टिप्पर आतंकबाट निधन हुनेतर्फ सचेत गराएका थिए ।
विकास निर्माणको कामको नाममा उपत्यकामा टिप्परलाई अनुमति दिने विकास प्राधिकरण खारेज गर्नुपर्ने आवश्यकता बोध गराएका थिए ।
सो शोकसभामा साँखुका संस्कृतिविद एवं साहित्यकार प्रकाशमान सक्व र जीवन श्रेष्ठले स्वर्गीय पवनलालको योगदानको कदर गर्दै वहाँप्रति कविता वाचन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।सो सभामा पवनका भाई गगन श्रेष्ठले आफूले दाई गुमाएको मात्र नभई धेरै ब्यक्तित्वहरुले आफ्नो साथी, भाई, मित्र गुमाएको बताउँदै सो दुःखद घडीमा समवेदन प्रकट गर्न आउनेहरुप्रति आभार व्यक्त गरेका थिए ।यस्तै लावण्य सन्देशका प्रकाशक तथा प्रवन्ध निर्देशक मिजेन्द्रकाजी श्रेष्ठले पवनलाल श्रेष्ठले ‘वान म्यान आर्मी’ को रुपमा पत्रिकाका लागि चाहिने सबै काम गरेको स्मरण गर्दै पवनलालको दुःखद निधन भएपछि एक अंक प्रकाशन गर्न पनि निकै कठिनाई अनुभव गरेको बताए ।
प्रेस युनियनमा आवद्ध भएपनि स्वतन्त्र ढंगले पत्रकारिता मार्फत योगदान गरेको बताउदै पवनलालको दुःखद निधनबाट अपुरणीय क्षति भएको उल्लेख गरेका थिए । पवनलालले मिहेनत गरेर अघि बढाइरहेको लावण्य सन्देशलाई निरन्तर प्रकाशनका लागि सबैलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।पत्रकर श्रेष्ठको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिमा नेपाल प्रेस युनियन साँखु शाखा, शंखरापुर सम्पदा विकास समिति, ब्लोडान शंखरापुर, शंखरापुर नगरपालिका, माधव नारायण व्रत तथा शालिनदी सुधार समिति, निल शारदा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल प्रेस युनियन केन्द्रीय समिति, नेवा पत्रकार कोष, नेवाः सम्पदा संरक्षण अभियान, नेवाः राष्ट्रिय पत्रकार दवु, नादि खुसी (शालिनदी) संरक्षण तथा सुधार समिति लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा शोक सभा गरेका हुन् ।
शोक सभामा पवन लाल श्रेष्ठबारेमा राम कृष्ण सिं ले परिचय र योगदानको बारेमा चिनारी गराएका थिए ।नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष, कुलचन्द वाग्ले, नेपाली कांग्रेसका नेता तथा वरिष्ठ पत्रकार लोकेश ढकाल, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, साँखु जेसिसका अध्यक्ष गणेश दुलाल, समाजसेवी राज दास श्रेष्ठ, नेकपा एसका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, बौद्ध प्रहरी प्रमुख डिएसपी हरि बहादुर बस्नेत, नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, रोटरी क्लव अफ साँखुका पूर्व अध्यक्ष लकस श्रेष्ठ, तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं प्रवक्ता राधाकृष्ण श्रेष्ठ, पूर्व मेयर सुवर्ण श्रेष्ठ, पूर्व उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, उज्यालो एफ.एम.का पत्रकार कुमार रञ्जित, सविधान सभा सदस्य दीपक कुईकेल, पवनलाल श्रेष्ठका भाई गगन श्रेष्ठ, शोक सभा कार्यक्रमका सभापति मिजेन्द्रकाजी श्रेष्ठ लगायतका व्यक्तित्वहरुले स्वर्गीय पवनलाल श्रेष्ठका योगदानहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थाको पहलका लागि एकजुट पनि आग्रह गरेका थिए ।पत्रकार पवनलाल श्रेष्ठको गत फागुन २४ गते जोरपाटीबाट साँखु फर्किने क्रममा साँझ साढे ६ बजे टिप्परको ठक्करबाट इन्द्रायणीमा दुःखद निधन भएको थियो ।
फोटो : नया पोस्ट