विकास बजेट एघार महिनामा एकाउन्न प्रतिशतमात्र खर्च

विकास बजेट एघार महिनामा एकाउन्न प्रतिशतमात्र खर्च

१३ असार । चालु आर्थिक वर्ष २०७१÷७२ को ११ महिनाको अवधिमा म्याग्दीमा भित्रिएको विकास बजेटको ५१ प्रतिशतमात्र खर्च भएको छ ।

जिल्लास्थित विभिन्न २७ वटा सरकारी कार्यालयले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि रु २३ करोड २९ लाख लाख ३९ हजार ८८० पुँजीगत बजेट विनियोजन भएकामा आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदा जम्मा ५१.२५ प्रतिशतमात्र खर्च भएको हो ।

Paisa

कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार ११ महिनाको अवधिमा रु ११ करोड ९३ लाख ९६ हजार ३४९ खर्च भएको छ । जेठ मसान्तसम्म ८० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । बजेट खर्च गर्ने अख्तियारी ढिला आउने, योजनाको समयमै काम नहुने, काम भएपनि पेस्कि नलगेको र भइरहेको कामको भुक्तानी हुन बाँकी रहेकाले पनि पँुजीगत खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रक पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा म्याग्दीका कार्यालयले रु छ करोड २२ लाख ३७ हजार ४९७ राजस्व सङ्कलन गरेका छन् । यस वर्ष सबैभन्दा बढी बजेट भित्रिएको बेनी पाखापानी सडक स्तरोन्नतिको काम गरिरहेको विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) परियोजनाको ठूलो रकम काम हुन नसकेपछि फ्रिज हुने देखिएको छ ।

रु नौ करोड ६२ लाख बजेट रहेको ड्रिलिप परियोजनाको जेठ मसान्तसम्म रु दुई करोड ७० लाखमात्र खर्च भएको छ । आर्थिक वर्ष सकिँनै लाग्दा विशेष गरेर स्थानीय निकायमा बजेट सिध्याउन तालिम, गोष्ठी, भ्रमणका कार्यक्रमले तीव्रता पाएका छन् । वैशाख अगावै सम्झौता भएका कतिपय योजना असार सुरु भएपछि काम सुरु भएका छन् । असार महिनामा हतारमा हुने काम गुणस्तरीय टिकाउ तथा प्रभावकारी देखिँदैनन् । रासस

तपाइँको प्रतिक्रिया ।