काठमाण्डौ उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन,संयोजकमा बसन्त अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन ।
बैठकमा प्रशासकीय अधिकृत अधिकारीले महानगरपालिकाका सफल अभ्यासका विषयमा प्रस्तुति दिएका थिए ।
एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरुको कार्य सम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रुपमा अन्य पालिकाहरुमा विस्तार गर्न सकिने उनको भनाइ छ ।
अहिले गोकर्णेश्वर नगरपालिकामा बैकुष्ठप्रसाद सापकोटा, शंखरापुरमा बासुदे्व खनाल, बुढानिलकण्ठमा भुवनेश्वर खनाल, तारकेश्वरमा डा. कृष्णबहादुर घिमिरे, चन्द्रागिरीमा जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय रहेका छन । यसैगरी चाँगुनारायणमा हिरामणि सुवेदी, सूर्य बिनायकमा राजेन्द्रप्रसाद कँडेल, मध्यपुरमा विजयराज सुवेदी, टोखा नगरमा शेरबहादुर बि. सी. कीर्तिपुरमा लक्ष्मीप्रसाद बास्कोटा, कागेश्वरी मनोहरा नगरमा अजय बर्तौला प्रमुख प्रशासकीय अधिकृत रहेका छन ।
बैठकमा उनिहरुले राजस्वको दर एउटै हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङ्को मापदण्ड समान बनाउनु पर्ने लगायत विषयमा धारणा राखेका थिए ।
फोरमको बैठकमा सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गी लगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहोर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा छलफल भएको थियो ।