आगो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, फागुन २०।
हे आगो तँ जलाउँछस् कति कुरा निर्धक्क पाएपछि
भन्दैनस् किन भो भयो जब निकै खाए अघाएपछि
चाल्छस् खर्खर पाइला किन सधैँ बाटो समाएपछि
देख्दैछस् कि अहा समुन्नत धरा आफैँ रमाएपछि । १।
तेरो काम रहेछ हो जग भरी आतङ्क फैलाउने
फैलाएर धुवाँ खुला चहकिलो आकाश मैलाउने
हाहाकार गराउने विरहको सङ्गीत चम्काउने
स्रस्टाको हर सिर्जना लहरमा वाधा बनी आउने । २।
के गर्छस् मनमोज नित्य जगको खोसेर हाँसो खुसी
के भर्छस् त्यसरी कुदेर त कतै भेटिन्न सानो मुसी
तेरो डाह रहन्छ हैन त सधैँ खुल्दो बिहानीसित
के भावी दिन देख्दछस् चहकिला, रानी खरानीसित ।३।
को देखाउन खोज्दछस् फगत यो तातो छ सत्ता कति
भेटेसम्म पिएर मस्त भनिदे मीठो छ भत्ता कति
मत्ता होस् तँ कि यो निरङ्कुश सधैँ कुर्सी हुने गर्दछ
जान्दैछस् मनमोज चार दिनको छाडी दिनै पर्दछ ।४।
जो जो छन् दुनियाँ निरीह तिनकै बाटो तँ छेक्छस् किन
सोझा सज्जन दीन हीन जनको आँखा तँ छोप्छस् किन
भन्छन् मानिस बार बार पिरलो खस्दैछ आगोसित
आमा खै कसरी भनौँ छ झगडा त्यो मूर्ख राँकोसित । ५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक