घरभाडा : बोधराज प्याकुरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन १३ ।
‘हैन, महिना मरेपछि भाडा दिनु पर्दैन ? आफ्नो घरको भाडा माग्दा पनि कति भनिरहनु पर्ने !’ ढोकामा उभिएर घरबेटी कराए ।
‘छोरी बिरामी भई, उपचार गर्दा धेरै खर्च लाग्यो । दुईचार दिनपर्खनु होस्, भाडा दिइहाल्छु नि !’ मैले अनुनयको स्वरमा भनेँ ।
‘खुरक्क आजै भाडा देऊ, नभए कोठा खालि गर ।’ घरवेटी झर्कँदै हिँडे ।
आजै कहाँबाट पैसाल्याउने ? मैले सोच्न सकिनँ । पोको बाँधेर कोठा छोडेर निस्किएँ । आँगनबाट घरतिर हेरेँ ।
आकासलाई छोउँला झैं गरेको अग्लो र बिशाल घर तर यति ठूलो घरको मालिकको मन भने कति सानो ? आफैसँग बोलेँ । महिना दिनमात्रै भएको थियो, म मन्दिरको पाटीको सानो कोठामा बसेको। एकदिन भूकम्पले पाटी गर्ल्यामगुर्लुम ढल्यो । जताततै चित्कार र कोलाहाल मात्रै सुनियो । शहरमा उभिएका घरहरु एउटा पनि रहेनन् ।सबै जमिनमा पछारिए । राति के गर्ने कहाँ जाने ? बिहान कुनै संस्थाले भूकम्प पीडितलाई बनाइदिएको एउटा पाल भित्र छिरेर खालि रहेको ठाउँमा गएर बसेँ । मेरो नजिकै त्यही संस्थाले दिएको कम्बल ओढेर एकजना मानिस बसिरहेका थिए । नियाँलेर हेरेँ । उनीत मेरै पुराना घरबेटी रहेछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक