लाजिम्पाटमा अर्को ठूलो लफडा

काठमाडौँ,९ असार । प्रचण्डले भावी अध्यक्षमा बाबुराम भट्टराईलाई प्रस्ताव गरेसँगै साम्य देखिएको एमाओवादीभित्रको विवाद फेरि बल्झन थालेको छ । आइतबार लाजिम्पाटमा बसेको बैठकमै प्रचण्ड र बाबुरामका कुरा बाझिएपछि पदाधिकारीबीच पनि विवाद देखापरेको थियो ।

लाजिम्पाटनिकट स्रोतले दिएको जानकारीअनुसार चार दिनपछि बस्ने संसद् अधिवेशन छलेर र आफूहरूलाई बाइपास गर्ने गरी पुनर्निर्माण गठनसम्बन्धी अध्यादेश ल्याउन लागिएकोमा त्यसको कडा प्रतिकार गर्नुपर्ने प्रस्ताव बाबुराम भट्टराईले राख्दा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको धर्म निभाउन मात्रै सामान्य विरोध गरे पुग्ने निर्णय सुनाए । प्रचण्डको निर्णयप्रति अन्य पदाधिकारीले समर्थन जनाए पनि वरिष्ठ नेता बाबुराम र सचिव टोपबहादुर रायमाझी सहमत हुन सकेनन् ।prachanda_niwas-lazimpat
बैठकमा बाबुरामले अध्यादेशको मस्यौदा नै ड्राफ्ट गरेर सरकारलाई बुझाएको बारे कुरा उठेको थियो । बाबुरामले पार्टीकै मान्यताबमोजिम आफूले संसद्प्रति जवाफदेही हुने गरी प्रधानमन्त्रीमातहत अधिकारसम्पन्न स्वायत्त प्राधिकरणका लागि विस्तृत अवधारणा र कार्ययोजनासमेत राखेर प्रस्ताव बुझाए पनि सरकारले त्यसलाई बाइपास गरेको प्रस्ट्याए । पार्टीमा छलफल नै नगरी व्यक्तिगत तवरमा सरकारलाई बुझाइएको मस्यौदाबारे भने त्यहाँ कसैले आपत्ति जनाएन ।
सो बैठकमा एमालेको भूमिकाप्रति गुनासो गरिएको थियो । शनिबार बिहान पार्टी पदाधिकारीको बैठक बसेर संसद् छली अध्यादेश ल्याउन नदिने निर्णय गरेको एमालेले भीम रावल र सुरेन्द्र पाण्डेलाई राति साढे आठ बजे बालुवाटार पठाई अध्यादेश ल्याउन सहमति जनाउँदा आफूहरू अप्ठ्यारोमा परेको प्रचण्डको भनाइ थियो । उनले बताए– एमाले र एमाओवादी सहकार्यका लागि केपी ओली, माधव नेपाल र विष्णु पौडेलको भूमिका सकारात्मक भए पनि वामदेव गौतमजी कांग्रेससँगै टाँसिन खोजिरहेको हो कि भन्ने लागेको टिप्पणी गरे । ‘केपी ओली र माधवजीसित धेरै गम्भीर कुरा भएको छ, म ओलीजीसित सम्पर्कमै छु । एमालेसँग सहकार्यका लागि राम्रो वातावरण बनेको छ, संविधान निर्माणपछि सरकार र प्राधिकरणलगायत सबैमा हाम्रोसमेत सहमति हुन्छ । अध्यादेशका कुरा सच्याउन पनि सकिन्छ । अहिले सत्तामा नभएकाले भनेअनुसार हुँदैन ।’ प्रचण्डले अध्यादेशमार्फत बनाउन खोजिएको प्राधिकरणको अन्तर्वस्तु र भूमिकामै असहमति रहेकाले यसबारे संसद्मै कुरा उठाउने तथा यसका कारण संविधान निर्माणमा कुनै व्यवधान हुन नहुने बताएका थिए । ‘कांग्रेसको संस्थापन पक्ष जे गरेर हुन्छ, हामीलाई भड्काउने र संविधान निर्माणमा भाँजो हाली सत्ता लम्ब्याउने खेलमा लागेको छ । रामचन्द्र, सिटौला, रामशरणहरूको भूमिका त्यति ठीक छैन । विगतको संविधानसभामा सर्वसम्मत भएका र संवाद समितिमा टुंगो लागेको विषयमा पनि अहिले निहुँ खोजिरहेको छ’ भन्दै प्रचण्डले कुरा टुंग्याएका थिए ।
पदाधिकारी बैठकको अर्को दिन बाबुराम पक्षको सानेपामा छुट्टै बैठक बसेको स्रोतले बताएको छ । बैठकमा टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलले प्रचण्डले जोड गरेको भए बाबुरामलाई प्राधिकरण अध्यक्ष बनाउन सकिने भनाइ राखेका थिए । हिसिला यमीले प्रचण्ड पक्षले आफूहरूलाई पेल्न सुरु गरेको, उपत्यकामा सल्लाहविनै एकपक्षीय ढंगले प्रशिक्षण कार्यक्रम राख्न लागिएको भन्दै अब फेरि विचार समूहका गतिविधि बढाउनुपर्ने बताएकी थिइन् । सो बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा हुने प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

बाबुराम भट्टराईले आफूले भनेजस्तो प्राधिकरणका पक्षमा संसद्भित्र र बाहिरका युवा नेताबीच लबिङ थाल्ने र पत्रकारसँग समेत भेटघाट राख्ने बताएका थिए । उनले आफू प्रधानमन्त्री हुँदा क्याबिनेटबाट निर्णय गरेर पठाएका ४ वटा अध्यादेश स्वीकृत नगर्ने राष्ट्रपतिले संसद् बस्नु ४ दिनपहिले संसद् छलेर ल्याइएको अध्यादेश स्वीकृत गर्नु गम्भीर भूल भन्ने टिप्पणी गरे । उनले प्राधिकरणको नेतृत्व बाबुरामले खोज्यो भन्दै प्रचार भएकोमा यसलाई चिर्नुपर्ने बताउँदै अहिले अध्यक्ष प्रचण्डको भूमिकामा कुनै विरोध गर्नेभन्दा मिलेरै जानुपर्ने र विचारका आधारमा भेदभाव गर्ने अन्य नेताको भने विरोध गरिने भनाइ राखेका थिए । सोमबार काठमाडौं जिल्ला समितिले कोटेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम बाबुराम पक्षले बहिष्कार गरेको छ । बाबुराम पक्षका नेता महेन्द्र श्रेष्ठले आफूहरूसँग सल्लाहै नगरी प्रशिक्षण राखिएको तथा त्यसैदिन बिहान मात्रै खबर गरिएकाले बहिष्कार गरेको बताएका छन् ।

सो प्रशिक्षणमा अध्यक्ष प्रचण्ड सहभागी हुने भनिए पनि बाबुराम पक्ष नआएपछि महासचिव कृष्णबहादुर महरा प्रमुख अतिथि बनेका थिए । १० वटै निर्वाचन क्षेत्रका इञ्चार्जले रिपोर्टिङ गरेको सो प्रशिक्षणमा महासचिव महराले पार्टी केन्द्रले गुट र उपगुटलाई नचिन्ने भन्दै केन्द्रले मान्यता दिएको जिल्ला समितिद्वारा आयोजित प्रशिक्षणमा आउँदैनौँ भन्नु गलत भएको बताएका थिए । काठमाडौं अध्यक्ष हिमाल शर्माले केही व्यक्ति कार्यक्रममा नआए पनि विगतमा बाबुराम पक्षका भनिने धेरैको सहभागिता रहेको जनाए ।
आज बुधबार ललितपुर जिल्ला समितिले आयोजना गरेको प्रशिक्षण पनि बाबुराम पक्षले बहिष्कार गर्ने भएको छ ।

जनआस्था साप्ताहिक बाट 

तपाइँको प्रतिक्रिया ।