काठमाण्डौ महानगरपालिका वडा नं १६ का शिक्षकहरुलाई सकरात्मक अनुशासन तालिम प्रदान

काठमाण्डौ महानगरपालिका वडा नं १६ का शिक्षकहरुलाई सकरात्मक अनुशासन तालिम प्रदान

कपन अनलाइन
काठमाडौं,माघ २३  ।

बालबालिकाको क्षेत्रमा विगत ३२ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएको बाल विकास समाजले समुदायस्तरमा बाल संरक्षणका सवाल पहिचानदेखि स्थानीय, प्रदेश तथा संघस्तरसम्म बालबालिकाहरुको अधिकार संरक्षणमा विभिन्न कामहरु गर्दै आइरहेको छ ।
यसै क्रममा  बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसल नेपालको संयुक्त प्रयास तथा काठमाडौं महानगरपालिका वडा नंबर १६ र कीर्तिपुर नगरपालिका काठमाडौंको समन्वयमा सकरात्मक अनुशासन सम्बन्धमा सामुदायिक विध्यालयका शिक्षकहरुलाई तालिम दिइएको छ । तालिममा बालबालिकाहरुलाई कुनैपनि दण्ड सजाय नदिइकनै अनुशासनमा राख्न सकिने उपायहरुको बारेमा छलफल भएको थियो । विशेषगरी विध्यालयहरुमा बालबालिकाहरुलाई सजाय दिने गरेका थुप्रै घटनाहरु बाहिर आइरहेको सन्दर्भमा बाल विकास समाजले शिक्षकहरुलाई सकरात्मक अनुशासनको सन्दर्भमा तालिम दिएको हो ।

काठमाडौं महानगरपालिका वडा नंबर १६ का वडा सदस्य शारदा सुवेदीले यस किसिमका तालिम सञ्चालन गर्नु एकदम राम्रो भएको र स्थानीय तहले दिनु पर्ने तालिम संस्थाको पहलमा सञ्चालन भएकोमा  धन्यवाद दिदै  विभिन्न संघसंस्था, स्थानीय सरकार संगसंगै सहकार्य गरेर काम गर्दा बालबालिकाको समृद्धि सम्भव हुने कुरा बताएकी थिइन् ।

यसैगरी संस्थाका महासचिव काजीबाबु पाण्डेले बाल विकास समाज समुदायस्तरमा परिवर्तन देखिनेगरी बालबालिकाको उत्थान र विकासको लागि काम गर्ने हुनाले स्थानीय सरकारसँग नजिक भएर काम गरिरहेको कुरा बताए  । उनले  बालबालिकालाई दण्ड सजाय दिनु भन्दापनि उनीहरुको समस्यालाई पहिचान गरेर समस्याको निराकरणमा अभिभावक, शिक्षक, संरक्षक अन्य सरोकारवाला पक्ष एकजुट हुनुपर्ने कुरा धारणा राखेका थिए  ।
सकरात्मक अनुशासन तालिममा काठमाडौं महानगरपालिका वडा नंबर १६ र कीर्तिपुर नगरपालिका काठमाडौंका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।

बाल विकासका चरणहरु, सजाय र अनुशासन, स्नेह र मार्गदर्शन मानवीय विविधता, वैयक्तिक विभन्नता बाल सजायका विकल्पहरु बालबालिकालाई दिइने सजायका विरुद्धमा भएका नीतिगत व्यवस्थाहरुको बारेमा विस्तृत रुपमा छलफल भएको थियो । साथै बालबालिकाहरुलाई कुनै पनि किसिमको सजाय दिन नपाइने हुनाले त्यस व्यवस्थालाई व्यवहार र अभ्यासमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा पनि समुहगत रुपमा छलफल भएको थियो । तीन दिनसम्म चलेको तालिमको सहजिकरण बाल अधिकारकर्मी चन्द्रीका खतिवडा, शिव बहादुर थापा र रविन नेपालीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।