राजस्व नउठेर योजना काटिरहेको बुढानिलकण्ठका अधिकृतहरुको “पाँच तारे” रिसोर्टमा “रिफ्रेसमेन्ट”

राजस्व नउठेर योजना काटिरहेको बुढानिलकण्ठका अधिकृतहरुको “पाँच तारे” रिसोर्टमा “रिफ्रेसमेन्ट”

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

मालपोत रजिस्ट्रेसन सहित अन्य राजस्व न्यून संकलन भएको कारण नगर सभाबाट विभिन्न योजनाहरुको बजेट काटेको बुढानिलकण्ठ नगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरु पुनर्ताजगी भन्दै “पाँच तारे” रिसोर्ट तिर लागेपछि सर्वत्र चर्चा र आलोचना भएको छ।

नेपाल सरकार अर्थ मन्त्रालयले समेत खर्च कटौतीको प्रयास गर्न अनुरोध गरिरहेको समयमा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल माउन्टेन रिसोर्टमा शुक्रवारको दिन पारेर बुढानिलकण्ठ नगरपालिका अधिकृत स्तरका कर्मचारीहरुले भने भव्य र रमाइलो पुनर्ताजगी कार्यक्रम गरेर लाखौ उडाएका छन।

उत्प्रेरणात्मक पुनर्ताजगी तालिम नाम दिइएको सो कार्यक्रममा नगरपालिकामा अधिकृत स्तरमा रहेका करिव ५ दर्जन कर्मचारी सहभागी रहेका थिए भने नगरपालिकामा नगर प्रमुख भन्दा पनि प्रभावशाली मानिने केहि जनप्रतिनिधिहरुलाई पनि निम्ता गरिएको थियो।

मालपोत रजिस्ट्रेसन कर अनुमान भन्दा निकै कम उठेपछि खर्च कटौती गर्नुपर्ने दवावमा रहेको बुढानिलकण्ठ नगरपालिकाका अधिकृतहरुको “रिफ्रेसमेन्ट” कार्यक्रम जस्ता फजुल खर्ची कार्यक्रमहरु काट्नका लागि पनि दवाव बढेको छ।

बुढानिलकण्ठ नगरपालिकाको ११ औ नगर सभामा प्रस्तुत गरिएको संसोधित बजेट प्रस्ताव तथा अर्ध वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिए अनुसार नगरपालिकाले अनुमान गरेको ५१ करोड २३  लाख ५५ हजार भन्दा निकै कम १५ करोड १९ लाख ९ सय ६३ मात्र मालपोत कर संकलन गरेको छ।

नगरपालिकाको राजस्व संकलनको मुख्य श्रोत मालपोत कर घटेको भन्दै सो नगर सभामा अनुसूची -३ बमोजित बजेट घटाई संसोधन गर्न प्रस्ताव समेत गरिएको छ।सो प्रस्तावको अनुसूची -३ मा उल्लेख गरिए अनुसार पुजीगत तर्फ १० र चालु तर्फ ३ योजनाको बजेट घटाईएको छ।

 

तपाइँको प्रतिक्रिया ।