बुढानीलकण्ठमा प्रथम नगर शिक्षक सम्मेलन सम्पन्न, के छ १५ बुँदे प्रतिबद्धतामा ?

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

बुढानीलकण्ठ नगरपालिकाले प्रथम  नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ ।

माघ १४ गते शनिबार हात्तीगौँडामा अवस्थित नगरपालिकाको सभाहलमा शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा भएको  सम्मेलनले जारी गरेको १५ बुँदे प्रतिबद्धता जारी गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रास्ट्रीय विज्ञान प्रविधि प्रतिष्ठानका प्रमुख खगराज बराल प्रमुख अतिथि रहेका थिए।

सो अवसरमा नगरपालिकाको सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी , चाइल्ड नेपालका अध्यक्ष कृष्ण सवेदी ,नेपाल शिक्षक संघका मदन कुमार पौडेल ,नेपाल शिक्षक संगठनका श्याम श्रेष्ठ सहित वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले मन्तव्य राखेका थिए।

के छ १५ बुँदे प्रतिबद्धतामा ?

१. प्रत्येक बालबालिका हाम्रो गौरब हुन् । यसका लागि प्रत्येक विद्यालयमा प्रारम्भिक वाल विकास र सेवालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नेछौ ।

२. अबको एक वर्षभित्र प्रत्येक विद्यालयमा आवश्यक सूचक तथा पूर्वाधार विकास गरी र प्रक्रिया पूरा गरी बालमैत्री विद्यालय घोषणा गर्नेछौ ।

३ प्रत्येक विद्यार्थीलाई वर्षमा कम्तिमा २ पटक विद्यालय तहमा एकिकृत स्वास्थ्य जाँच तथा उपचारको उचित प्रबन्ध गर्नेछौ  ।

४. नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एक वर्ष भित्र न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित ग`र्न मापदण्ड निर्माण गरी कार्यान्वयन गर्नेछौ ।

५. शिक्षा क्षेत्रमा न्यूनतम् २० प्रतिसत बजेट बिनियोजनको सुनिश्चितता गर्नेछौ ।

६. उच्च मनोबलयुक्त र अभिप्रेरित शिक्षक विकास र व्यवस्थापनका लागि न्यूनतम् पारिश्रमिक र सुविधाको सुनिश्चितता र पेसागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछौ ।

७. नगरपालिका र वडा स्तरमा वालउद्यान र  खेल मैदान लगायतका बालमैत्री पूर्वाधार निर्माण गर्नेछौ  ।

८. प्रत्येक विद्यालयमा सक्षम नेतृत्वको विकास र व्यवस्थापन गरी उच्च शैक्षिक नतिजाको प्रर्बद्धन गर्नेछौ ।

९. प्रत्येक विद्यालयमा संगीत, नृत्य, खेलकुद  र योगा लगायतका अतिरिक्त क्रियाकलापमा आवश्यक शिक्षण सिकाइका लागि नगर शिक्षक बैंकबाट शिक्षक परिचालन गरी अतिरिक्त सिकाइको सुनिश्चितता गर्नेछौ ।

१०. विद्यालय शिक्षामा सूचना प्रविधियुक्त शिक्षण, समतामूलक शिक्षण, जीवनपयोगी पाठ्यक्रमको कार्यान्वयन, सघन शिक्षण सेसन सञ्चालन, शिक्षण सिकाइको परीक्षण, विद्यार्थी निमार्णात्मक मूल्यांकन र अभिभावक शिक्षा लगायतका क्रियाकलाप सञ्चालन गरी शिक्षाको गुणस्तर वृद्धि गर्नेछौ ।

११. विद्यालय र नगरपालिकाबीच द्रुत सञ्चार समन्वय र सहकार्यका लागि डिजिटल सञ्चार लगायतको संयन्त्र विकास गरी परिचालन गर्नेछौ । साथै विद्यालय, वडा कार्यालय र नगरपालिकाबीचको प्रभावकारी समन्वय सहकार्य र साझेदारी अभिवृद्धि गरी विद्यालयको शैक्षिक सुधार, विकास र उन्नयनमा जोड दिनेछौ ।

१२. शिक्षकले प्रधानाध्यापक प्रधानाध्यापकले नगरपालिकासँग कार्यसम्पादन करार गरी लक्ष्यसूचकका आधारमा विद्यालयको सञ्चालन गर्नेछौ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शिक्षक विद्यार्थी र उत्कृष्ट विद्यार्थीका अभिभावकलाई विद्यालय वडा र नगरपालिका तहमा प्रोत्साहन गर्नेछौ । कमजोर नतिजा भएको विद्यार्थी, शिक्षक र विद्यालयका लागि उपचारात्मक विधि अबलम्बन गर्नेछौ ।

१३. मेरो विद्यालय, मेरो सपना कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक बजेट र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नेछौ ।

१४. विद्यालय कक्षा शिक्षण, विद्यार्थी मूल्याकन र शिक्षक मनोबल अभिवृद्धि मापदण्ड विकास गरी कार्यन्वयन गर्नेछौ ।

१५. विद्यालय शिक्षा सम्बन्धी नगरपालिकाको नीति र गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेछौ ।

तपाइँको प्रतिक्रिया ।