मुम्बईमा विषाक्त मदिराबाट ९० को मृत्यु

मुम्बईमा विषाक्त मदिराबाट ९० को मृत्यु

मुम्बई, ६ असार । भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको सङ्ख्या शनिबारसम्म ९० पुगेको समाचार छ । मुम्बई प्रहरीले शनिबार नै सो जानकारी दिएको छ ।

भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनन्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको सङ्ख्या शुक्रबारसम्म ५३ पुगेकोमा शनिबार बढेको जानकारी दिनुभयो ।

safe_image

उहाँले यसरी मर्ने व्यक्तिको सङ्ख्या ९० पुगेको तथा ४० व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताउनुभएको छ । यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १०० पुग्ने अनुमान गरिएको पनि उहाँले बताउनु भएको छ ।

गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन् । शनिबार पनि यस्ता बिरामी अस्पतालमा भर्ना भइरहेका प्रहरी उपआयुक्तले कुलकर्णी बताउनुभयो ।

नगरको उत्तरी भागमा अवस्थित मालाड वेस्टमा रहेको गरिब वस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ ।

आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापर्बाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिइएको छ ।

ती मदिरामा अधिक मात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ ।

सन् २००४ मा पनि मुम्बईमा यस्तै प्रकारको घटना भएको थियो र त्यस समयमा करिब १०० व्यक्तिको मृत्यु भएको बताइएको छ ।

जनवरी महिनामा उत्तर प्रदेशको लखनऊ नगरमा यस्तै गैरकानुनी रूपमा उत्पादन भएको मदिरा सेवन गरी ३१ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१३ को अक्टोबरमा उत्तर प्रदेशमा यस्तै मदिरा सेवन गरी तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएपछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो ।

सन् २०११ मा पश्चिम बङ्गालमा यस्तै मदिरा सेवन गरी १७० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

तपाइँको प्रतिक्रिया ।