मेलम्ची खानेपानी आयोजनाको काम सम्बन्धमा मन्त्रालयसँग जानकारी

मेलम्ची खानेपानी आयोजनाको काम सम्बन्धमा मन्त्रालयसँग जानकारी

काठमाडौँ, ४ असार । व्यवस्थापिका–संसद् वातावरण समितिले मेलम्ची खानेपानी आयोजना सञ्चालनमा भइरहेका काम कारबाही सम्बन्धमा सहरी विकास मन्त्रालयसँग जानकारी लिने भएको छ ।

melamchi

समितिको आज सिंहदरबारमा बसेको बैठकले आयोजना सुरु भएको धेरै समय बितिसके पनि काममा ढिलासुस्ती भएको भन्दै भइरहेका काम कारबाही सम्बन्धमा स्पष्ट जानकारीसहित समितिको आगामी बैठकमा मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध पदाधिकारीलाई बोलाउने निर्णय गरेको समितिका सभापति जनकराज चौधरीले जानकारी गराउनुभयो ।

सो समितिले वार्षिक प्रतिवेदन तयार गर्न समितिअन्तर्गतका उपसमितिका सयोजकहरु सदस्य रहेको कार्यदल पनि गठन गरेको छ ।

बैठकमा अधिकांश सांसदले आयोजना सुरु भएको लामो समय बितिसके पनि काममा भइरहेको ढिलासुस्तीले मेलम्चीको पानीको आसमा बसेका काठमाडौँ उपत्यकाबासीलाई चिन्तित बनाएको बताउनुभयो । भूकम्पलाई कारण बनाएर भइरहेका वन अतिक्रमणसहित अन्य गतिविधिलाई तत्काल रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

सांसद मदनबहादुर अमात्य र रेशम लामाले मेलम्ची खानेपानी आयोजना सुरु भएको लामो समय बितिसके पनि हालसम्म सम्पन्न हुन नसक्नुका कारण बुझ्नुपर्ने बताउनुभयो । योजना सम्पन्न हुन नसक्ने हो भने त्यसको विकल्प खोज्नुपर्नेमा उहाँको जोड थियो ।

सांसद भीमसेनदास प्रधानले काठमाडौँलाई वातावरणीय रुपमा स्वच्छ स्थलका रुपमा विकास गर्न विभिन्न नाममा भएका अतिक्रमणको क्रमलाई अन्त्य गर्नु आवश्यक रहेको र वातावरण संरक्षणसम्बन्धी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद हरि राजवंशी र सत्यनारायण मण्डलले वातावरणीय संरक्षणका लागि वैज्ञानिक वनको अवधारणालाई साकार पारी वन विनाशका कारण हुने अनावृष्टि, भू–क्षयजस्ता समस्यालाई दीर्घकालीन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसद लीला मगर, गणेशबहादुर विमली, जीवनकुमारी घिमिरेलगायतले वातावरणीय रुपमा असर पार्ने गरी मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगको अनुगमन गरिनुपर्ने, मेलम्ची आयोजनामा भएको ढिलासुस्ती रोकिनुपर्ने, वन विनाश तत्काल बन्द हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।