पापिनी : राजेश भट्टराई (लघुकथा )

पापिनी : राजेश भट्टराई (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

‘यस्तो अवस्थामा पनि काम गर्न पर्नी, सकि नसकी ।’ भुनभुनिदै कोखिलामा गाग्री च्यापेर हिडिन् उनी ।
‘ओहो ! निरु, सन्चो नभए जस्तो देख्छु त, के भयो ?’ जम्काभेटमा खोलापारीकी काकीले सोधिन् ।
‘के हुनु नि काकी, ज्वरो आ’को आई छ, हात खुट्टालुला भा’छन् ।’
‘अनि यस्तो बेलामा पनि किन काम गरेको त ?’
‘नगरेर के गर्नु काकी? सासुले केही गर्नुहुन्न, कराएको कराई मात्र गर्नु
हुन्छ ।’
‘अनि तिम्रो बुढो श्यामेले ?’
‘उहाँ पनि केही बोल्न सक्नुहुन्न । काँचै खानुहुन्छ, उहाँलाई पनि ।’
‘यस्तो गर्न कहाँ पाइन्छ ?अर्काकी छोरी भन्दैमा । आफ्नी छोरी भा’त चाट्थिन
होला ।’
‘के गरौँ त काकी?’
‘लेऊ गाग्री, म लैजान्छु । कुरा गर्छु, तिम्री सासु सँग ।’ भन्दै लिइन् । बाटोमा भेटिएका अरु महिलालाई पनि ‘आओ यिनलाई न्याय दिलाउन’भन्दै लिएर हिडिन् ।
घर पुगेर झपार्दै भनिन्, कमलीलाई ‘के हो ह तिमी? यस्तो अवस्थामा पनि बुहारीलाई काममा जोताउने ? खुरुक्क औषधी गर्न लिएर जाऊ । सन्चो नहुन्जेल आफैले काम गर।छोरालाई पनि गर्न लगाऊ ।’
अरु महिलाले पनि यसै गरी थर्काए ।
‘माफ पाऊ बहिनीहरु, अब देखि त्यस्तो गर्दिन ।’ भनिन् र लगिन् औषधी गर्न ।
सन्चो नहुन्जेल आराम गर्न दिईरहिन । सबै काम आमा छोरा मिलेर गरे।
दश दिनमा सन्चो भयो ।
‘निरु अब त उठ । हेर आमा मात्र कति घोटिनु भा’छ, सकिन सकि ।’ बिहानी पख भन्यो उसले ।
‘उठ्दिन ।’
‘किन? अब त सन्चो भैसक्यो ।’
‘किन उठ्नु पर्यो  र ? अब त, म जस्ती भएपनि गाउँकाले तपाईकै आमालाई नराम्रो भन्छन् ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।